






काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुलीले पार्टीको केन्द्रीय समिति बैठकमा समसामयिक राजनीतिक, सांगठनिक, आर्थिक र वैदेशिक सम्बन्धसँग जोडिएका विभिन्न १८ विषयमा गम्भीर धारणा प्रस्तुत गरेका छन्।
पराजुलीले पार्टीभित्र अनुशासन र आचारसंहिताको गम्भीर अभाव भएको उल्लेख गर्दै कांग्रेसजस्तो लोकतान्त्रिक दलमा यसले गम्भीर संकट निम्त्याउन सक्ने बताएका छन्। उनका अनुसार नेतादेखि कार्यकर्तासम्मले सार्वजनिक स्थान, सामाजिक सञ्जाल र चोक–चियापसलमा अपमानजनक अभिव्यक्ति दिनु गलत अभ्यास हो, र यस्तो व्यवहारको अन्त्य गर्दै आन्तरिक फोरमभित्रै धारणा राख्ने संस्कार विकास गर्नुपर्ने समय आएको छ।
पराजुलीले पार्टीको क्रियाशील सदस्यता प्रणालीमा पनि स्पष्ट वर्गीकरणको आवश्यकता औंल्याए। योग्य व्यक्तिलाई जिम्मेवारी दिनका लागि क्रियाशील सदस्यहरुको मूल्यांकन आवश्यक रहेको उनले बताए। उनले पछिल्लो समय कांग्रेस सरकारमा सहभागी भए पनि संसद र प्रशासनमा प्रभाव कमजोर हुँदै गएकोप्रति चिन्ता व्यक्त गरे। एमालेसँगको गठबन्धनले राजनीतिक स्थायित्वमा योगदान दिए पनि कांग्रेसले अपेक्षाअनुसार लाभ लिन नसकेको उनको टिप्पणी थियो।
उनले विकास निर्माणका बजेटहरू व्यक्तिविशेषको प्रभावमा क्षेत्रीय रूपमा मात्र वितरण गरिएको भन्दै यसले पार्टीको समग्र छवि कमजोर बनाएको तर्क गरे। मोरङलगायत पूर्वी क्षेत्रका जिल्लाहरूमा बजेट नपुगेको अवस्था उदाहरणीय रहेको उनले बताए। त्यस्तै, मनपरी नियुक्ति तथा दुईतिहाई सरकारको नाममा कांग्रेस निरीह बन्नु परेको अवस्था पनि उनले उजागर गरे। पूर्वाञ्चल विश्वविद्यालय लगायतका नियुक्तिमा कांग्रेसको भूमिकालाई उपेक्षित गरिएको उनको भनाइ थियो।
भ्रष्टाचार अझै राजनीतिक नेतृत्व र प्रशासनमा जरा गाडेर बसेको उल्लेख गर्दै उनले सुशासन कायम गर्न पार्टीले विशेष पहल गर्नुपर्ने बताए। जनप्रतिनिधिहरूप्रति जनगुनासो बढ्दै गएको, स्थानीय तहदेखि प्रदेश र संघमा रहेका प्रतिनिधिहरू काम गर्न असफल देखिएको भन्दै पराजुलीले काम नगर्नेहरूलाई सरकारबाट फिर्ता बोलाउनुपर्ने र काम गर्नेहरूको प्रशंसा गर्नुपर्ने धारणा राखे।
भातृसंगठनहरू निष्क्रियजस्तै भएका कारण ती निकायलाई सक्रिय बनाउन समयसीमा तोकेर जिम्मेवारी बाँडफाँड गर्नुपर्ने उनको सुझाव थियो। पार्टीलाई वडा तहसम्म सक्रिय बनाउन उनले विगतको १०० दिने अभियानजस्तै कार्यक्रम फेरि ल्याउनुपर्ने विचार राखे।
संघीयताको कार्यान्वयनमा अझै पनि चुनौती कायमै रहेको बताउँदै उनले प्रदेश र स्थानीय तहबीच अधिकारको बाँडफाँट, स्रोत व्यवस्थापन र कार्यक्षमतामा देखिएको कमजोरी संघीय संरचनाको प्रभावकारिता घटाउने मुख्य कारण भएको उल्लेख गरे। छिमेकी मुलुकहरूसँगको सन्तुलित सम्बन्ध र वैदेशिक नीतिमा पनि कांग्रेस कमजोर बनेको उनको ठहर थियो। पछिल्लो समय नेपालमा देखिएको राजावादी आन्दोलन र विदेशी हस्तक्षेपको पृष्ठभूमिमा कांग्रेसले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने उनको सुझाव थियो।
युवा पुस्तामा देखिएको निराशा, राजनीतिक असहभागिता र अवसरको अभाव सम्बोधन गर्न कांग्रेसले युवा लक्षित कार्यक्रम ल्याउनुपर्ने र उनीहरूलाई पार्टीको नेतृत्व तहसम्म ल्याउन आरक्षणसहितका उपायहरू अवलम्बन गर्नुपर्ने पराजुलीको धारणा थियो। यस्तै, कृषि क्षेत्रमा गरिएको क्रान्तिको नारामात्रै बाँकी रहेको भन्दै उनले कृषकहरू अझै मल, बीउ र सिँचाइको अभावमा पिल्सिएको बताए। कृषि सामग्री आयातमा भन्सार झमेलाले किसानहरू थप पीडित भएको पनि उनले उल्लेख गरे।
जनसंख्याको वृद्धिदर घट्दै जानु, धार्मिक विवाद र सहिष्णुताको संकट, पहिचान र क्षेत्रीय आन्दोलनहरू, धर्म परिवर्तनका घटनाहरूले सामाजिक तनाव बढाएको बताउँदै उनले सनातन हिन्दु राष्ट्र घोषणाबारे पनि गम्भीर बहस पार्टीभित्र हुनुपर्ने धारणा राखे। अन्त्यमा उनले सवारी, लाइसेन्स, सडक सुरक्षालगायतका व्यावहारिक विषयमा सुधार र युवा पुस्ताका लागि नवप्रवर्तनमा आधारित स्टार्ट अप व्यवसायलाई प्रोत्साहन गर्नुपर्ने सुझाव समेत राखे।
भीम पराजुलीले प्रस्तुत गरेका यी धारणा कांग्रेसको सांगठनिक सुधार, वैचारिक स्पष्टता, नीतिगत जवाफदेहिता र जनविश्वास पुनःस्थापनाका लागि अत्यन्त महत्वपूर्ण र बहसयोग्य विषयहरू हुन्। उनले पार्टी नेतृत्वलाई गम्भीर समीक्षा गर्दै दिगो सुधारका लागि स्पष्ट दिशानिर्देश दिन आग्रह गरेका छन्।