फायल फोटो
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत फाइनल खेलको टिकट सीमित सिट क्षमताका कारण केही मिनेटमै बिक्री सकिएको स्पष्ट पारेको छ ।
बिहीबार टिकट बिक्री साझेदार खल्तीले फाइनल खेलको टिकट बिक्री खुला गरेको केही मिनेटमै सबै टिकट सकिएका थिए । टिकट बिक्री सुरु भएको छोटो समयमै सोल्ड आउट भएपछि समर्थकहरूले सामाजिक सञ्जालसहित विभिन्न माध्यमबाट असन्तुष्टि व्यक्त गरेका थिए ।
यस विषयमा प्रतिक्रिया दिँदै क्यानले विज्ञप्ति जारी गरी टिकट बिक्री खुला हुँदा करिब दुई लाख प्रयोगकर्ताले एकैसाथ टिकट खरिद गर्ने प्रयास गरेको जनाएको छ । तर, क्रिकेट मैदानको सीमित दर्शक क्षमताका कारण मागअनुसार टिकट उपलब्ध गराउन नसकिएको क्यानको भनाइ छ ।
क्यानका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “नेपाल प्रिमियर लिगको यही मिति २०८३ मंसिर ५ गते हुने फाइनल खेलको टिकट बिक्री खुला गरिएको समयमा करिब २ लाख प्रयोगकर्ताहरूले एकैसाथ टिकट खरिद गर्न खोज्नुभएको तर क्रिकेट मैदानको क्षमताअनुसार टिकटको उपलब्धता सीमित भएका कारण बिक्री खुला भएको केही मिनेटमै सम्पूर्ण टिकटहरू सोल्ड आउट भएको जानकारी गराउँदछौँ ।”
क्यानले टिकट खरिद गर्न नपाएका दर्शक तथा समर्थकप्रति भएको असुविधाका लागि क्षमायाचना समेत गरेको छ । साथै, प्रतियोगिताका खेलहरू अनलाइन तथा आधिकारिक प्रसारण प्लेटफर्ममार्फत हेर्न समर्थकहरूलाई आग्रह गरेको छ ।
एनपीएलको बहुप्रतीक्षित फाइनल खेल शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा हुँदैछ । उपाधिका लागि लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन् ।
