






तस्वीर : क्यान
काठमाडौ । करण केसीले सानदार ब्याटिङ गर्दै ओडिआई करियरमा पहिलो अर्धशतक प्रहार गरेका हुन । उनको यो योगदानका कारण नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ मा घरेलु टोली स्कटल्याण्ड विरुद्ध कीर्तिमानी जित हात पारेको छ ।
नवौँ नम्बरमा ब्याटिङ गरेका करणले अविजित ६५ रन बनाएपछि लिग २ शृंखलाको पहिलो खेलमा नेपालले स्कटल्याण्डलाई १ विकेटले हराएको हो । स्कटल्याण्डले दिएको २९७ रनको लक्ष्य नेपालले अन्तिम बल बाँकी छँदा ९ विकेट गुमाएर पूरा गर्यो । करणले ४१ बल खेल्दै ३ चौका र ४ छक्का मदतमा अविजित ६५ रन बनाए । उनी म्यान अफ द म्याच पनि घोषित भए ।
नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा ठूलो लक्ष्य पूरा गर्दै कीर्तिमान बनाएको हो । यसअघि नेपालले क्यानडासँग २८७ रनको लक्ष्य पूरा गर्दै खेल जितेको सबैभन्दा सफल रन चेज थियो ।
१९२ रनमा ७ विकेट गुमाएको अवस्थामा करण र गुल्सन झाले आठौं विकेटका लागि ६० रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।
नेपाललाई अन्तिम ६ ओभरमा ६८ रन आवश्यक थियो र ३ विकेट मात्र बाँकी थियो । गुल्शन झाले ४५औं ओभरमा २ छक्का प्रहार गरे भने ४६औं ओभरमा उनी आउट भएपछि नेपाललाई ४ ओभरमा ४३ रन चाहिने अवस्था थियो ।
त्यसपछिको ओभरमा सफिया सरिफले जम्मा ५ रन मात्र दिएपछि अन्तिम ३ ओभरमा ३८ रन आवश्यक रहँदा नेपाल १५९(८ को अवस्थामा थियो । करणले ४८औं ओभरमा एक छक्कासहित सन्दीप लामिछानेसँग मिलेर १३ रन जोडेपछि अन्तिम २ ओभरमा २५ रन आवश्यक भयो ।
४९औं ओभरमा सफिया सरिफलाई एक छक्का र २ चौका प्रहार गर्दै उक्त ओभरमा कुल १८ रन जोडेपछि नेपाललाई अन्तिम ओभरमा ७ रन मात्र चाहिएको थियो ।
अन्तिम ओभरको पहिलो बलमा सन्दीप लामिछाने क्याचआउट भएपछि रिन ढकालले एक बल वाइड र एक बल डट खेलेपछि १ रन लिएर करणलाई स्ट्राइक दिए । करणले त्यसपछिको २ बलमा २(२ रन जोडेपछि अन्तिम बलमा १ रन आवश्यक थियो ।
उक्त बल डाउन द लेग वाइड भएपछि बाइको रन लिन पनि भागेका रिजन रनआउट भए तर अम्पायरले वाइडको इशारा गरेपछि नेपालले १ विकेटको रोमाञ्चक जित हात पारेको हो ।
त्यसअघि नेपालका लागि ओपनर कुशल भुर्तेलले ५३ रन बनाए । गुल्शन झाले ४२, भीम सार्कीले ४०, कप्तान रोहित पौडेलले ३७ रन बनाए ।
स्कटल्याण्डका ब्रान्डन म्याकमुलेनले १० ओभरमा ४७ रन दिएर ३ विकेट लिए । ज्याक जार्भिस र माइकल लिस्कले २(२ तथा जास्पर डेभिडसन र मार्क वाटले १(१ विकेट लिए ।
त्यसअघि डुन्डीमा नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ५० ओभरमा ७ विकेट गुमाएर २९६ रन बनाउँदै नेपाललाई २९७ रनको लक्ष्य दिएको हो ।
स्कटल्याण्डका लागि ओपनर चार्ली टियरले सर्वाधिक ८० रन बनाए । टियरले ७२ बल खेल्दै १२ चौका र १ छक्का प्रहार गरे । यस्तै फिनले म्याकरिथले ५५, कप्तान रिची बेरिङटनले ४० र म्याथ्यु क्रसले ३९ रन बनाए ।
नेपालका लागि करण केसीले १० ओभरमा १ मेडन राख्दै ४३ रन दिएर २ विकेट लिए । त्यस्तै सोमपाल कामीले १० ओभरमा ६६ तथा रिजन ढकालले १० ओभरमा ७८ रन खर्चेर २(२ विकेट लिए । सन्दीप लामिछानेको नाममा १ विकेट रह्यो ।
यस जितपछि नेपाल १३ खेलबाट ८ अंक जोडेर अंकतालिकामा सातौं स्थानमा उक्लिएको छ। स्कटल्याण्ड १७ खेलमा २० अंकका साथ चौथो स्थानमा छ ।