Premier Cables
Premier Steel

अपराध

विराटनगरको पूर्वाञ्चल आयलका सञ्चालकमाथि कानुनी कारबाही अघि बढाइँदै

सन्तोष कुमार बास्तोला

Hamro Biratnagar News Channel Calendar बिहिबार, भाद्र ०४, २०८३  | राती ९:४४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । उपभोक्तालाई पेट्रोल र डिजेलको परिमाणमा ठगी गरेको आरोपमा विराटनगर–६ स्थित पूर्वाञ्चल आयल सप्लायर्स का सञ्चालक ओमप्रकाश अग्रवालमाथि कानुनी कारबाही अघि बढाइएको छ। गुणस्तर तथा नापतौल कार्यालय विराटनगरले बिहीबार अग्रवालको बयान लिएर कारबाही प्रक्रिया अगाडि बढाएको हो।

शनि मन्दिरअगाडि सञ्चालित उक्त पेट्रोल पम्पमा सोमबार साँझ गरिएको आकस्मिक अनुगमनका क्रममा पेट्रोल र डिजेलको वितरणमा परिमाण कम भएको भेटिएको थियो। कार्यालयका अनुसार परीक्षण गर्दा ५ लिटर पेट्रोलमा ६० मिलिलिटर र ५ लिटर डिजेलमा १०० मिलिलिटरसम्म कम इन्धन वितरण भएको पाइएको थियो।

बिज्ञापन

गुणस्तर तथा नापतौल कार्यालयका प्रमुख शम्भु झाले सञ्चालकको बयान लिने काम सम्पन्न भइसकेको जानकारी दिँदै प्राविधिक प्रतिवेदनका आधारमा मुद्दा प्रक्रिया अघि बढाइने बताए।
उनका अनुसार उपभोक्तालाई प्रत्यक्ष असर पर्ने गरी नापतौलमा अनियमितता गर्ने व्यवसायीमाथि प्रचलित कानुनअनुसार कारबाही गरिनेछ।

सञ्चालक अग्रवालविरुद्ध ‘स्टाण्डर्ड नाप र तौल ऐन, २०२५’ अन्तर्गत मुद्दा चलाउने तयारी गरिएको कार्यालयले जनाएको छ। ऐनको दफा १९ मा नापतौलका साधनमा कपटपूर्ण कार्य गर्ने तथा व्यवसायिक प्रयोजनका लागि गलत नापतौल प्रयोग गरी उपभोक्तालाई ठगी गर्ने विषयमा सजायको व्यवस्था गरिएको छ।

कानुनी व्यवस्थाअनुसार कसूर पुष्टि भएमा कैद तथा जरिवाना हुन सक्ने र ठगीमा प्रयोग भएका नापतौलसम्बन्धी उपकरण तथा साधनसमेत जफत गर्न सकिने व्यवस्था रहेको कार्यालयले जनाएको छ।
पेट्रोल पम्पमा गरिएको अनुगमनबाट उपभोक्ताले खरिद गरेको इन्धनको वास्तविक परिमाण र मेसिनमा देखाइएको परिमाणबीच अन्तर देखिएपछि यो विषय थप गम्भीर बनेको हो।

विराटनगरका विभिन्न पेट्रोल पम्पमा इन्धनको परिमाणमा गडबडी गरी उपभोक्ता ठगिएको गुनासो बढिरहेका बेला नापतौल कार्यालयले अनुगमनलाई तीव्रता दिएको जनाएको छ।

पूर्वाञ्चल आयल सप्लायर्स प्रकरणमा सञ्चालकको बयान र प्राविधिक प्रतिवेदनका आधारमा अब कस्तो कानुनी कारबाही हुन्छ भन्ने विषयमा विराटनगरका उपभोक्ताको समेत चासो बढेको छ। इन्धनजस्तो दैनिक उपभोगसँग प्रत्यक्ष जोडिएको वस्तुमा हुने अनियमिततामाथि राज्यका नियामक निकायले प्रभावकारी कारबाही गर्नुपर्ने मागसमेत उठेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka