नोट: यो समाचार १ महिना अघिको हो
काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कामकारबाहीमा कुनै पनि प्रकारको राजनीतिक हस्तक्षेप नहुने स्पष्ट पार्नुभएको छ।
राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबार बसेको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीसँग भएको छलफलमा लामिछानेले आयोगलाई पूर्वाग्रहरहित ढङ्गले काम गरेर इतिहास रच्न सुझाव दिनुभयो।
उहाँले भ्रष्टाचारसम्बन्धी अनुसन्धान तथा अभियोजनलाई थप व्यवस्थित, निष्पक्ष र वस्तुनिष्ठ बनाउनुपर्नेमा जोड दिनुभयो।
लामिछानेले अनुसन्धान र अभियोजनका क्रममा व्यक्तिको पद निलम्बन हुने अवस्थाले उसको व्यक्तिगत, पारिवारिक तथा व्यावसायिक जीवनमा गम्भीर असर पर्न सक्ने बताउनुभयो। उहाँले अदालतबाट सफाइ पाएपछि पनि सामाजिक प्रतिष्ठामा पुगेको क्षतिको क्षतिपूर्ति कसरी गर्ने भन्ने विषयमा गम्भीर हुनुपर्ने धारणा राख्नुभयो।
उहाँले अख्तियारका पदाधिकारीलाई अनुसन्धान र अभियोजनमा पर्याप्त मेहनत तथा तथ्यमा आधारित निर्णय गर्न आग्रह गर्नुभयो।
