Premier Cables
Premier Steel

खेलकुद

२४ वर्षपछि विश्वकपमा इंग्ल्यान्ड र अर्जेन्टिनाको महाभिडन्त: फाइनल प्रवेशका लागि मेसी र केन आमनेसामने

Hamro Biratnagar News Channel Calendar बुधबार, असार ३१, २०८३  | बिहान ११:३२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । चार दशकभन्दा बढी समयदेखि विश्व फुटबलका समर्थकलाई रोमाञ्चित बनाउँदै आएको इंग्ल्यान्ड र अर्जेन्टिनाको ऐतिहासिक प्रतिद्वन्द्विता फेरि एकपटक विश्वकपको मञ्चमा दोहोरिँदै छ । यसपटक दाउमा क्वाटरफाइनल वा समूह चरणको जितमात्र होइन, विश्वकप २०२६ को फाइनल प्रवेश छ ।

डिएगो म्याराडोनाको ‘ह्यान्ड अफ गड’ देखि डेभिड बेकह्यामको रातो कार्ड, र सन् २००२ मा बेकह्यामले पेनाल्टीमार्फत लिएको बदलासम्म—यी दुई राष्ट्रबीचका भेटले विश्व फुटबललाई अनेक अविस्मरणीय क्षण दिएका छन् । फिफा विश्वकपको यो चर्चित राइभलरी २४ वर्षपछि ब्युँतन लागेकाले यस सेमिफाइनललाई प्रतियोगिताकै सबैभन्दा ठूलो भिडन्तका रूपमा हेरिएको छ ।

बिज्ञापन

अब लियोनल मेसी र ह्यारी केनको नेतृत्वमा अर्को ऐतिहासिक अध्याय लेखिने तयारी छ । एकातिर लगातार दोस्रो विश्वकप उपाधिको खोजीमा रहेको साविक विजेता अर्जेन्टिना छ भने अर्कोतर्फ ६० वर्षपछि फेरि विश्वकप फाइनल पुग्ने सपना बोकेको इंग्ल्यान्ड ।

थ्री लायन्स (इंग्ल्यान्ड) को यात्रा:

समूह चरण: पहिलो खेलमा क्रोएसियालाई ४–२ ले पराजित, घानासँग गोलरहित (०-०) बराबरी, र पानामालाई २–० ले हराउँदै समूह विजेता ।

नकआउट चरण (अन्तिम ३२ र १६): कंगोविरुद्ध १ गोलले पछि परेको अवस्थाबाट पुनरागमन गर्दै २–१ को जित र सहआयोजक मेक्सिकोलाई १० खेलाडीमा सीमित हुँदै पनि ३–२ ले पाखा लगायो ।

क्वाटरफाइनल: नर्वेविरुद्ध सुरुवाती अग्रता गुमाए पनि जुड बेलिङहमको दुई गोल मद्दतमा २–१ को जित निकाल्दै पछिल्ला तीन विश्वकपमध्ये दोस्रो पटक सेमिफाइनलमा स्थान पक्का ।

मुख्य हतियार: कप्तान ह्यारी केन र जुड बेलिङहमले समान ६–६ गोल गरेका छन् (एउटै विश्वकपमा दुई खेलाडीले ६+ गोल गरेको दुर्लभ उपलब्धि) । बुकायो साका र एन्थोनी गोर्डनले समान ३–३ असिस्ट गरेका छन् ।

अल्बिसेलेस्ते (अर्जेन्टिना) को यात्रा:

समूह चरण: पहिलो खेलमै अल्जेरियालाई ३–० ले हराउँदै उपाधि रक्षा अभियान सुरु (लियोनल मेसीको ह्याट्रिक र विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ताको कीर्तिमान) । अस्ट्रियालाई २–० र जोर्डनलाई ३–१ ले हराउँदै समूह विजेता ।

नकआउट चरण (अन्तिम ३२ र १६): केप भर्डेविरुद्ध अतिरिक्त समयमा ३–२ को कठिन जित तथा इजिप्टविरुद्ध अन्तिम समयमा पुनरागमन गर्दै ३–२ को रोमान्चक जित ।

क्वाटरफाइनल: स्विट्जरल्यान्डको कडा चुनौती पन्छाउँदै अतिरिक्त समयमा जुलियन अल्भारेज र लाउतारो मार्टिनेजको गोलमा ३–१ को जित निकाल्दै लगातार दोस्रोपटक सेमिफाइनल यात्रा तय ।

मुख्य हतियार: मेसी ८ गोलसहित गोल्डेन बुटको दौडमा शीर्ष स्थानमा छन् । क्रिस्टियन रोमेरो र लिसान्द्रो मार्टिनेजको रक्षापङ्क्ति तथा गोलरक्षक एमिलियानो मार्टिनेज टोलीका बलिया खम्बा हुन् ।

हेड टु हेड (इतिहास के भन्छ ?)

कुल भेट: १४ खेल (इंग्ल्यान्ड विजयी: ६, अर्जेन्टिना विजयी: ३, बराबरी: ५)विश्वकपमा भेट: ५ पटक (इंग्ल्यान्ड विजयी: ३, अर्जेन्टिना विजयी: २)

विश्वकपका ऐतिहासिक क्षणहरू

१९६२ र १९६६: समूह चरणमा इंग्ल्यान्ड ३–१ ले विजयी । १९६६ को क्वाटरफाइनलमा इंग्ल्यान्ड १–० ले विजयी हुँदै उपाधियतर्फ बढेको ।

१९८६ (क्वाटरफाइनल): म्याराडोनाको चर्चित ‘ह्यान्ड अफ गड’ र अद्भुत एकल गोलको मद्दतमा अर्जेन्टिना २–१ ले विजयी ।

१९९८ (अन्तिम १६): पेनाल्टी सुटआउटमा अर्जेन्टिना विजयी । माइकल ओवेनको उत्कृष्ट गोल र डेभिड बेकह्यामको रातो कार्डका कारण यो खेल स्मरणीय छ ।

२००२ (समूह चरण): बेकह्यामको निर्णायक पेनाल्टी गोलको मद्दतमा इंग्ल्यान्ड १–० ले विजयी । यो हारसँगै अर्जेन्टिना ४० वर्षपछि पहिलोपटक समूह चरणबाटै बाहिरिएको थियो ।

 

टिम न्युज र रणनीति

 

इंग्ल्यान्ड: प्रशिक्षक थोमस टुचेलसँग पहिलो रोजाइका अधिकांश खेलाडी उपलब्ध छन् । केन र बेलिङहम उत्कृष्ट लयमा छन् भने साका र गोर्डनले विंग्सबाट तथा डेक्लान राइसले मिडफिल्ड सम्हाल्नेछन् ।

अर्जेन्टिना: प्रशिक्षक लियोनेल स्कालोनी बलियो टोलीसहित मैदान उत्रनेछन् । मेसीको जादुमय लयसँगै अल्भारेज, एन्जो, म्याक एलिस्टर र डे पलले मिडफिल्ड मजबुत बनाएका छन् । डिफेन्समा रोमेरो-मार्टिनेज र पोस्टमा ‘दिबु’ मार्टिनेजको भरोसा छ ।

प्रभाव पार्न सक्ने मुख्य खेलाडीहरू

यस महाभिडन्तमा गोल्डेन बुटका दुई मुख्य दाबेदार लियोनल मेसी र ह्यारी केन बीचको भिडन्त रोचक हुनेछ । मेसी अर्जेन्टिनालाई लगातार दोस्रो पटक विश्वकप फाइनल पुर्‍याउन चाहन्छन् भने केन इंग्ल्यान्डको ६० वर्ष लामो खडेरी तोड्ने दाउमा छन् । यस्तै जुड बेलिङहम, बुकायो साका, क्रिस्टियन रोमेरो र एन्जो फर्नान्डेजको प्रदर्शन पनि निर्णायक बन्न सक्छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa