विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउन अन्तर्गत सञ्चालित सिपी सेन्टरमा सेरेब्रल पाल्सी (CP) भएका बालबालिकाका लागि तीन दिने विशेष पुनर्स्थापना (रिह्याबिलिटेशन) शिविर सञ्चालन भइरहेको छ ।
शिविरमा भारतको मुरादाबादबाट आउनुभएका प्रख्यात पुनर्स्थापना विशेषज्ञ द्वारा केन्द्रमा दर्ता भएका सम्पूर्ण बालबालिकाको स्वास्थ्य मूल्यांकन, थेरापी सेसन तथा पुनर्स्थापना सम्बन्धी परामर्श प्रदान गरिँदैछ ।
शिविरमार्फत बालबालिकाको शारीरिक अवस्था, चालचलन, दैनिक क्रियाकलाप तथा विकास सम्बन्धी विस्तृत परीक्षण गरी आवश्यक थेरापी र अभिभावकलाई मार्गदर्शन दिइने केन्द्रले जनाएको छ ।
क्लबकी अध्यक्ष गिरिजा सारडाले पत्रकारहरूसँग कुरा गर्दै “यो केन्द्र र यहाँका बालबालिका हाम्रो हृदयसँग अत्यन्त नजिक छन् । उनीहरूको जीवन सहज र आत्मनिर्भर बनाउन हामी निरन्तर प्रयासरत छौं,” बताउनुभयो ।
शिविरमा सरिता गोल्छा, सन्तोष तोदी लगायत क्लबका विभिन्न सदस्यहरूको उपस्थिति रहेको थियो । कार्यक्रमले अभिभावकहरूमा पनि सकारात्मक उत्साह थपेको बताइएको छ ।

Oplus_16908288
