Premier Cables
Premier Steel

समाचार

मोरङमा भूमिहीन र सुकुमबासीको संख्या ६६ हजारभन्दा धेरै

Hamro Biratnagar News Channel Calendar सोमबार, बैशाख २१, २०८३  | बिहान ११:०४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

मोरङ । मोरङ जिल्लामा भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीको संख्या उल्लेखनीय रूपमा उच्च रहेको तथ्यांक सार्वजनिक भएको छ ।

तथ्यांकअनुसार जिल्लामा ८ हजार ९१९ भूमिहीन दलित, १८ हजार ५६१ भूमिहीन सुकुमबासी र ४० हजार २५३ अव्यवस्थित बसोबासी परिवार रहेका छन् । १७ स्थानीय तहहरूमध्ये कतिपय पालिकाले अझै पूर्ण विवरण प्रविष्ट नगरेका कारण वास्तविक संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

बिज्ञापन

भूमि आयोगका अनुसार सबै पालिकाबाट विवरण अद्यावधिक भएपछि करिब एक लाख परिवारलाई जग्गा पुर्जा वितरण गर्नुपर्ने अवस्था आउन सक्ने देखिएको छ । त्यसका लागि करिब २ हजार १३० बिघा जग्गा आवश्यक पर्ने प्रारम्भिक अनुमान गरिएको छ ।

२०४७ सालमा बहुदलीय व्यवस्था पुनःस्थापना भएयता हालसम्म १९ वटा आयोग गठन भइसकेका तथ्यांकले देखाउँछ । ती आयोगहरूले भूमिहीन र सुकुमबासीका नाममा केही मात्रामा पुर्जा वितरण गरे पनि समस्या दीर्घकालीन रूपमा समाधान हुन सकेको छैन । दशकौँदेखि राज्यले जग्गा दिने आशामा बसेका धेरै नागरिक अहिले वृद्ध अवस्थासम्म पुगिसकेका छन्, तर उनीहरूको समस्या अझै उस्तै रहेको छ ।

यसैबीच, विराटनगरमा सुकुमबासी समस्या पहिले नै गहिरो रहेको विभिन्न अध्ययनहरूले देखाएका छन् । नागरिक सरोकार मञ्च नेपाल र शहरी सामुदायिक सूचना केन्द्रले २०७१ सालमै गरेको अध्ययनअनुसार विराटनगरका कुल घरपरिवारमध्ये करिब १५ प्रतिशत सुकुमबासी रहेको उल्लेख गरिएको थियो ।

विराटनगरका श्रीनगर, शान्ति चोक, पृथ्वी टोल, जागृति टोल र मुसहर बस्ती लगायतका क्षेत्रहरूलाई सुकुमबासी बस्तीका रूपमा पहिचान गरिएको छ ।

महानगरपालिकाले २०७९ सालमा स्थापना गरेको भूमि व्यवस्थापन शाखामार्फत गरिएको नयाँ लगत संकलनअनुसार १ हजार ४१२ भूमिहीन दलित/सुकुमबासी र २ हजार १९४ अव्यवस्थित बसोबासी गरी जम्मा ३ हजार ६०६ परिवार रहेको देखिएको छ ।

वडा नं. १९ मा सबैभन्दा बढी ६३६ परिवारले जग्गा दाबी गरेका छन् भने वडा नं. ४ मा ३८० र वडा नं. १७ मा ३७४ आवेदन परेको तथ्यांक छ ।

तर, सुकुमबासी अधिकारसँग जोडिएका सरोकारवालाहरूले वास्तविक संख्या अझै धेरै रहेको दाबी गरेका छन् । उनीहरूका अनुसार विराटनगरमा करिब १० हजार घरपरिवार सुकुमबासी अवस्थामा रहेको अनुमान छ ।

सुकुमबासी अगुवा विमल निरौलाका अनुसार सार्वजनिक तथा ऐलानी जग्गामा करिब ६ हजार परिवार बसोबास गरिरहेका छन् भने निजी, संस्थान तथा उद्योगको जग्गामा बसोबास गर्ने थप करिब ४ हजार परिवार रहेको अनुमान छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka