काठमाडौं । व्यवसायी विष्णु अग्रवाल नेतृत्वको एमएडब्लू हायर पर्चेजले अत्यधिक ऋणका आधारमा व्यवसाय विस्तार गरिरहेको तथ्य सार्वजनिक भएको छ। कम्पनीले १ रुपैयाँ आफ्नै पुँजीको आधारमा ४.२८ रुपैयाँ ऋण चलाइरहेको देखिएको छ, जसले भविष्यमा आर्थिक दबाब बढ्ने संकेत गरेको छ।
यामाहा मोटरसाइकल, जेसीबी, स्कोडा, जिप, दीपाल, नामी र सेरेस लगायत ब्रान्डका सवारी तथा विद्युतीय सामग्री खरिदमा फाइनान्स सुविधा दिँदै आएको कम्पनीले पछिल्लो समय तीव्र गतिमा लगानी विस्तार गरेको छ। सन् २०२४ अक्टोबरमा २.९ गुणा रहेको गियरिङ रेसियो सन् २०२५ अक्टोबरसम्म ४.३ गुणा पुगेको छ।
गत वर्ष कम्पनीको पोर्टफोलियो करिब ४८ प्रतिशतले बढेको थियो भने चालु आर्थिक वर्षको पहिलो तीन महिनामै थप ३४ प्रतिशतले विस्तार भएको छ। नयाँ कर्जा तत्काल खराब नदेखिने भएकाले भविष्यमा असुली जोखिम बढ्न सक्ने विश्लेषण गरिएको छ।
कम्पनीले मुख्य रूपमा दुई पाङ्ग्रे सवारी साधन, मोबाइल फोन तथा कमर्सियल गाडीमा लगानी बढाएको छ। चालु आवको पहिलो त्रैमाससम्म दुई पाङ्ग्रे सवारी साधनको हिस्सा कुल पोर्टफोलियोको ४६ प्रतिशत पुगेको छ, जुन गत वर्ष ३६ प्रतिशत थियो।
हाल कम्पनीको निष्क्रिय कर्जा १.९५ प्रतिशत रहेको छ भने प्रोभिजनिङ पछिको खुद निष्क्रिय कर्जा ०.०७ प्रतिशत छ। पहिलो त्रैमासमा नेट इन्ट्रेस्ट मार्जिन ७.२६ प्रतिशत रहेको कम्पनीले जनाएको छ।
चालु आवको तीन महिनासम्म कम्पनीले ४ अर्ब १ करोड २० लाख रुपैयाँ पोर्टफोलियो र ४ अर्ब १० करोड ९० लाख रुपैयाँ कुल सम्पत्ति व्यवस्थापन गरेको छ।
रेटिङ एजेन्सी इक्राका अनुसार कम्पनीको सम्पत्ति–दायित्व सन्तुलन, तरलता व्यवस्थापन र उच्च ऋण निर्भरता चुनौतीपूर्ण पक्षका रूपमा देखिएका छन्। ब्याजदर वृद्धि वा असुलीमा समस्या आए कम्पनी थप दबाबमा पर्न सक्ने जोखिम औंल्याइएको छ।
एमएडब्लू हायर पर्चेजमा एमएडब्लू इन्टरप्राइजेजको ४० प्रतिशत, एमएडब्लू अर्थमुभरको ३० प्रतिशत, विष्णुकुमार अग्रवालको २९.५ प्रतिशत र प्रनानाथ भट्टराईको ०.५ प्रतिशत स्वामित्व रहेको छ। कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ३ अर्ब ८९ करोड ५० लाख रुपैयाँ बराबरको रेटिङ गराएको छ।
