विराटनगर । ८ औँ नकआउट वडा अध्यक्ष कप फुटबल प्रतियोगिता २०८३ आजदेखि सुरु भएको छ।
लक्ष्मी युवा स्पोर्टिङ्ग क्लबद्वारा आयोजित प्रतियोगिताको उद्घाटन वडा अध्यक्ष अनिल कुमार ठाकुरले रिबन काटेर गरेका हुन्।
उद्घाटन खेलमा लालीगुराँस बिराटनगर र सीसीएफसी रंगेलीबीच प्रतिस्पर्धा भएको थियो। प्रतियोगिताअन्तर्गत भोलि हुने खेलमा बुधनगर एफसी र जहदा युथ क्लब आमनेसामने हुनेछन्। फाइनल खेल वैशाख १९ गते हुने आयोजकले जनाएको छ।
प्रतियोगितामा विजेता टोलीले नगद रु ६१,००० पुरस्कार प्राप्त गर्नेछ भने उपविजेता टोलीले रु ३१,००० पुरस्कार पाउनेछ।
उद्घाटन कार्यक्रममा बोल्दै वडा अध्यक्ष ठाकुरले जहदा गाउँपालिकामा खेलकुद विकासलाई विशेष प्राथमिकता दिइएको बताए।
उनले जहदाबाट राष्ट्रिय टोलीसम्म खेलाडी पुग्नु गौरवको विषय भएको उल्लेख गर्दै क्रिकेट, ब्याडमिन्टन लगायतका खेलमार्फत स्थानीय खेलाडीहरूले क्षेत्रको नाम उज्यालो बनाएको बताए।
आगामी दिनमा अझ प्रभावकारी र स्तरीय खेलकुद कार्यक्रम सञ्चालन गर्दै युवाहरूलाई खेलतर्फ आकर्षित गर्ने योजना रहेको उनले जानकारी दिए।
