काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं विरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ।
निर्वाचनअघि दिएको अभिव्यक्तिका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले बुधबार उनीविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दायर गरेको हो। अभियोगपत्रअनुसार, प्रसाईंलाई ऐनको दफा ४७ बमोजिम सजायको माग गरिएको छ, जसअनुसार कसुर प्रमाणित भएमा एक लाख रुपैयाँसम्म जरिवाना, पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
त्यस्तै, दफा ४७ (२) अनुसार एउटै कसुर दोहोरिएमा थप सजाय हुने व्यवस्था रहेको छ। प्रसाईंले पटकपटक यस्तै कसुर गरेको देखिएको भन्दै अभियोजन पक्षले थप सजायका साथै अपराध पीडित संरक्षण ऐन, २०७५ बमोजिम पीडित राहत कोषमा क्षतिपूर्ति तिर्नुपर्ने माग पनि गरेको छ।
अभियोगपत्रमा उल्लेख भएअनुसार, प्रसाईंले सामाजिक सञ्जाल फेसबुकमार्फत फागुन २१ मा सम्पन्न निर्वाचनबारे भ्रामक र उत्तेजक अभिव्यक्ति दिएका थिए। उनले ‘निर्वाचन गरिए देश टुक्रिन्छ’ जस्ता अभिव्यक्ति दिँदै वैमनस्यता फैलाउने प्रयास गरेको र निर्वाचन आचारसंहिता ०८२ उल्लंघन गरेको प्रहरी अनुसन्धानले देखाएको छ।
त्यसैगरी, उनले निर्वाचनअघि राजसंस्था र हिन्दू राज्य पुनर्स्थापना नभएसम्म चुनाव हुन नदिने, र चुनाव भए देशमा अशान्ति फैलिने दाबी गरेका थिए। सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमार्फत उनले ‘मर्न र मार्न तयार हुने’ तथा जबर्जस्ती चुनाव गरिए देश टुक्रिन सक्ने जस्ता हिंसात्मक अभिव्यक्ति दिएको आरोप लगाइएको छ।
यसअघि प्रसाईंले तत्कालीन प्रधानमन्त्रीसँग वार्ता पनि गरेका थिए। तर, वार्ताका क्रममा राजतन्त्र पुनर्स्थापनाको माग उठाएपछि छलफल निष्कर्षविहीन बनेको थियो।
