विराटनगर । बालेन शाह नेतृत्वमा सरकार गठन भएयता निरन्तर ओरालो लागेको सेयर बजार अहिले झन् प्यानिक अवस्थातर्फ धकेलिएको छ । बजारमा तीव्र गिरावट आएपछि आत्तिएका लगानीकर्तामाथि बैंकहरूले मार्जिन कल गर्न थालेका छन् ।
आइतबार एकै दिन शेयर बजार सूचक नेप्से १०५.५० अंकले घटेको छ । बजार २ हजार ६ सय ७६ दशमलब ६८ विन्दुमा बन्द भएको छ ।
१२ अर्ब ३८ करोड ९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आजको कारोबारमा ७ कम्पनीको शेयरमूल्य बढ्दा २६१ वटाको घटेको छ ।
घटेको बजारमा चार कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । जसमा रिलायन्स स्पिनिङ मिल्स लिमिटेड, भुजुङ हाइड्रोपावर लिमिटेड, रिजलाइन इनर्जी लिमिटेड र होटल फरेस्ट इन लिमिटेड रहेका छन् । यी कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, तीन कम्पनीमा लगानी गर्ने लगानीकर्ताहरूले सर्वाधिक गुमाए । जसमा नारायणी विकास बैंक, हिमालयन रि-इन्स्योरेन्स कम्पनी र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी रहेका छन् । यी कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले घटेको छ ।
कारोबार पनि हिमालयन रि–इन्स्योरेन्स कम्पनीकै सर्वाधिक भएको छ । यस कम्पनीको आज ५८ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।
यस कम्पनीको शेयरमूल्य ९.८४ प्रतिशतले घटेको छ । सर्वाधिक कारोबार भने हिमालयन रि–इन्स्योरेन्स कम्पनीको भएको छ ।
सेयरधितो कर्जा लिएर लगानी गरेका लगानीकर्ताहरूलाई लक्षित गर्दै बैंकहरूले मार्जिन कल बढाएपछि लगानीकर्ताको विश्वास गुम्दै गएको छ । नेप्सेमा दैनिकजसो गिरावट जारी रहँदा बजार क्र्यासतर्फ उन्मुख देखिएको छहो, जसले लगानीकर्तामा चिन्ता थप बढाएको हो ।
सरकारको बजारप्रतिको अस्पष्ट नीतिले अन्योल सिर्जना गरिरहेको अवस्थामा बैंकहरूको कडाइले लगानीकर्तामा थप त्रास पैदा गरेको छ ।
लगानीकर्ताहरूले आफ्ना समस्या समाधानका लागि पटक–पटक पहल गर्दा पनि नयाँ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले खासै चासो नदेखाएको आरोप लगाएका छन् । उनीहरूले सरकारको सेयर बजारप्रति अनुदार नीति रहेको निष्कर्षसमेत निकालेका छन् ।
यसैबीच, भावी रणनीति तय गर्न लगानीकर्ताहरूले आज आइतबार अपराह्न ३ बजेपछि भेला बोलाएका थिए । अगुवा लगानीकर्ता तिलक कोइरालाका अनुसार मार्जिन कल र सरकारी नीतिका कारण दैनिक अर्बौं रुपैयाँ नोक्सान हुन थालेपछि आगामी कदमबारे छलफल गर्न भेला आयोजना गरिएको हो ।
भेलामा छलफलपछि लगानीकर्ताको नयाँ रणनीति सार्वजनिक गर्ने तयारी रहेको कोइरालाले जानकारी दिए । नयाँ सरकार आएसँगै शेयर बजार बढ्ने धेरैको अनुमान विपरीत बजारमा राताम्यै बनेको छ । लगानीकर्ताले शेयर बजारको विषयमा सरकारले स्पष्ट नीति सार्वजनिक गर्नुपर्नेमा जोड दिइएको छ ।
अहिले सरकारले विभिन्न क्षेत्रका व्यवसायीहरुलाई समेत धरपकड गर्न शुरु गरेको असर शेयर बजारमा समेत पर्न थालेको विश्लेषण गरिएको छ ।
