Premier Cables
Premier Steel

विज्ञान र प्रविधि

५४ वर्षपछि चन्द्रमातर्फ मानव मिसन: आर्टेमिस-२ सफल प्रक्षेपण

Hamro Biratnagar News Channel Calendar बिहिबार, चैत्र १९, २०८२  | बिहान ८:३८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । करिब ५४ वर्षपछि चन्द्रमातर्फ मानव मिसनको नयाँ अध्याय सुरु भएको छ। अमेरिकी अन्तरिक्ष एजेन्सी नासा ले आफ्नो पहिलो मानवयुक्त आर्टेमिस–२ मिशन बिहीबार बिहान नेपाली समयअनुसार ३:५० बजे फ्लोरिडाबाट सफलतापूर्वक प्रक्षेपण गरेको हो।

यस मिशनमा क्रिस्टीना कोच, भिक्टर ग्लोभर, रिड वाइसम्यान र जेरेमी हेन्सेन सहभागी छन्। उनीहरूलाई स्पेस लन्च सिस्टम (एसएलएस) मार्फत अन्तरिक्षमा पठाइएको हो।

बिज्ञापन

यो १० दिने यात्रामा टोली पृथ्वीबाट करिब ४.०६ लाख किलोमिटरसम्म पुग्नेछ, जुन मानवद्वारा गरिएको सबैभन्दा टाढाको अन्तरिक्ष यात्रामध्ये एक मानिएको छ।

परीक्षण भए पनि ऐतिहासिक
आर्टेमिस–२ अन्तर्गत अन्तरिक्षयात्रीहरू चन्द्रमाको नजिक पुग्नेछन् तर अवतरण गर्ने छैनन्। यो परीक्षण मिशन हो, जसले भविष्यका चन्द्र अभियानका लागि आवश्यक प्रविधि र प्रणालीहरूको परीक्षण गर्ने लक्ष्य राखेको छ। मिशन करिब १० दिनमा पूरा भई टोली सुरक्षित रूपमा पृथ्वीमा फर्किनेछ।

नासाका अनुसार यो मिशन चन्द्रमामा मात्र नभई भविष्यमा मंगल ग्रहसम्म मानव पठाउने दिशामा महत्वपूर्ण कदम हो।

‘डिप स्पेस’मा मानव परीक्षण
यो मिशनले पहिलोपटक पृथ्वीको सुरक्षा घेराभन्दा बाहिर ‘डिप स्पेस’मा मानव शरीरमा पर्ने प्रभावको अध्ययन गर्नेछ। अन्तरिक्षयात्रीहरूले कश्मिक रेडिएसन र चरम वातावरणको सामना गर्नेछन्, जसले शरीरमा पर्ने असरहरूलाई अभिलेख गरिनेछ।

सन् १९७२ पछि पहिलोपटक मानिस पृथ्वीको चुम्बकीय क्षेत्र बाहिर जाने भएकाले यो यात्रा विशेष महत्त्वपूर्ण मानिएको छ।
उन्नत वैज्ञानिक प्रयोग

मिशनमा ‘अर्गन अन–ए–चिप’ प्रविधिको प्रयोग गरिँदैछ। अन्तरिक्षयात्रीहरूको कोशिका माइक्रोचिपमा राखेर एउटा अन्तरिक्षमा र अर्को पृथ्वीमा राखिनेछ। यसमार्फत डीएनए क्षति, टेलोमियर परिवर्तनलगायत जैविक असरहरूको तुलना गरिनेछ।

यो प्रविधि ‘लो–अर्थ अर्बिट’भन्दा बाहिर पहिलोपटक प्रयोग हुँदैछ, जसले भविष्यका अन्तरिक्ष यात्राको जोखिम मूल्याङ्कनमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

ढिलाइपछि सफल उडान
यो मिशन प्रारम्भमा फेब्रुअरी २०२६ मा प्रक्षेपण गर्ने योजना थियो। तर प्राविधिक समस्याका कारण पटक–पटक सारिएको थियो। अन्ततः अप्रिल १, २०२६ मा केनेडी स्पेस सेन्टर बाट सफलतापूर्वक प्रक्षेपण गरिएको हो ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka