काठमाडौं । देशमा अहिले पश्चिमी प्रणालीसँगै स्थानीय वायुको प्रभाव देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार वाग्मती, गण्डकी, कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्यतया बादल लागेको छ भने तराईका अधिकांश भागमा आंशिक बदली रहेको छ।
आज (चैत १८) दिउँसो हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने पहाडी र तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ। कोसी प्रदेशका पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा र वाग्मती, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ।
आज राति भने कोसी, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने अन्य हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। पहाडी र तराई क्षेत्रमा मौसम प्रायः सफा रहनेछ। साथै, कोसी र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
