काठमाडौं । इन्डियन आइडल सिजन–३ का विजेता तथा चर्चित गायक–अभिनेता प्रशान्त तामाङको आइतबार ४२ वर्षको उमेरमा निधन भएको छ ।
हृदयघात भएपछि नयाँ दिल्लीको द्वारकास्थित अस्पतालमा उपचारका लागि लगिएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
तामाङ नयाँ दिल्लीमै रहँदै आएका थिए । उनको निधनको खबर परिवार तथा नजिकका आफन्तबाट प्राप्त भएको फिल्म निर्देशक राजेश घटानीले बताएका छन् ।
गायक प्रमोद खरेलले समेत सामाजिक सञ्जाल फेसबुकमार्फत तामाङको निधनप्रति दुःख व्यक्त गर्दै दार्जिलिङमा रहेका कलाकार साथीहरूबाट खबर पाएको उल्लेख गरेका छन् ।
खरेलका अनुसार तामाङ केवल भारतको उत्तर–पूर्वी क्षेत्र वा नेपाली समुदायको मात्र प्रतिनिधि थिएनन्, उनी विश्वभर छरिएर रहेका नेपाली भाषा बोल्ने सबैको साझा पहिचान बनेका थिए । भारतीय सञ्चारमाध्यमका अनुसार अरुणाचल प्रदेशमा आयोजित कार्यक्रम सम्पन्न गरी राजधानी फर्किएलगत्तै उनको निधन भएको हो ।
स्वास्थ्यमा कुनै गम्भीर समस्या नदेखिएको अवस्थामा अचानक हृदयघातका कारण उनको निधन भएको बताइएको छ । सन् १९८३ जनवरी ४ मा पश्चिम बंगालको दार्जिलिङमा जन्मिएका तामाङ सामान्य परिवारिक पृष्ठभूमिबाट राष्ट्रियस्तरको ख्याति हासिल गर्न सफल कलाकार हुन् ।
सानै उमेरमा पिता गुमाएपछि परिवारको जिम्मेवारी सम्हाल्दै उनले कोलकाता प्रहरीमा सिपाहीका रूपमा सेवा गरेका थिए । प्रहरी ब्यान्ड (अर्केस्ट्रा) मा गीत गाउने क्रममा उनको संगीत यात्रा अघि बढेको थियो ।
सन् २००७ मा इन्डियन आइडल सिजन–३ मा सहभागी भएसँगै उनको जीवनले नयाँ मोड लियो । अन्ततः प्रतियोगिता जित्दै उनले भारतसहित विश्वभरका करोडौं दर्शक–श्रोताको मन जितेका थिए । “आज ठूला मञ्चमा पुगेर गाउने नेपाली कलाकारहरूले रियालिटी शोमा पुग्ने साहस प्रशान्तकै कारण पाएका हुन्,” निर्देशक घटानीले भनेका छन् ।
इन्डियन आइडल जितेपछि तामाङको सफलता गोर्खा तथा नेपाली भाषी समुदायका लागि गर्वको विषय बनेको थियो । त्यसपछि उनले थुप्रै संगीत एल्बम सार्वजनिक गरे । संगीतसँगै उनले अभिनय क्षेत्रमा पनि पाइला टेके ।
उनले अभिनय गरेको नेपाली फिल्म ‘गोर्खा पल्टन’ दर्शकमाझ अत्यन्त रुचाइएको थियो ।
पछिल्लो समय उनले भारतीय वेब सिरिज ‘पाताल लोक’ सिजन–२ र सलमान खान अभिनीत फिल्म ‘ब्याटल अफ गलवान’ मा समेत अभिनय गरेका थिए । निर्देशक घटानीका अनुसार हालसालै भेट्दा तामाङले सलमानको फिल्ममा राम्रो काम गरेकोमा खुशी व्यक्त गरेका थिए ।
गीत–संगीतमार्फत उनले विश्वभर रहेका नेपालीहरूलाई एकआपसमा जोड्ने काम गरे ।
‘ब्याटल अफ गलवान’ मा सँगै काम गरेका अभिनेता अनुप बिक्रम शाहीले तामाङलाई कुशल गायकसँगै सक्षम अभिनेता र मिलनसार व्यक्तित्वका रूपमा सम्झिएका छन् । “४–५ दिन सेटमा सँगै काम गर्दा उहाँ निकै आत्मीय र सकारात्मक व्यक्तित्व लाग्नुभएको थियो ।
केही महिनाअघि मात्र भेट भएको थियो, यो खबर विश्वास गर्न गाह्रो भइरहेको छ,” शाहीले भने ।
स्वर्गीय तामाङका श्रीमती र एक छोरी रहेका छन् । उनी दिल्लीको जनकपुरी क्षेत्रमा बसोबास गर्दै आएका थिए । स्रोतका अनुसार सबैभन्दा पहिले उनकी सासूले निधनको खबर थाहा पाई इन्डियन आइडलका सहकर्मी अमित पललाई जानकारी गराएकी थिइन् ।
त्यसपछि पलले इन्स्टाग्राममार्फत खबर सार्वजनिक गरेसँगै तामाङको निधनको समाचार बाहिर आएको हो ।
स्वर्गीय प्रशान्त तामाङप्रति संगीत, कला र नेपाली भाषी समुदायले गहिरो शोक व्यक्त गरेका छन् ।
