Premier Cables
Premier Steel

समाचार

भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोलाई न्यूयोर्क लगियो

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, पुष २०, २०८२  | अपराह्न १:१२ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई अमेरिकी सेनाले न्यूयोर्क पुर्याएको छ। उहाँहरूलाई न्यूयोर्क राज्यस्थित स्टिवार्ट एयर नेशनल गार्ड बेसबाट हेलिकोप्टरमार्फत म्यानहट्टनस्थित डीईए (ड्रग इन्फोर्समेन्ट एडमिनिस्ट्रेसन) कार्यालय लगिएको थियो ।

त्यसपछि दुवैलाई ब्रुकलिनस्थित मेट्रोपोलिटन डिटेन्सन सेन्टरमा राखिएको छ । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मदुरोको आँखामा पट्टी बाँधिएको तस्बिर सार्वजनिक गर्नुभएको थियो । मदुरोलाई इवो जिमा नामक पानीजहाजमार्फत न्यूयोर्क लगिएको बताइएको छ । अमेरिकी सेनाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई सैन्य कारबाहीमार्फत नियन्त्रणमा लिएको हो।

सार्वजनिक तस्बिरमा ६३ वर्षीय मदुरो ट्र्याक सुट लगाएको र एउटा प्लास्टिकको पानीको बोतल समातिरहेको अवस्थामा देखिनुभएको छ ।

ट्रम्पले भेनेजुएलामा सत्ताको सुरक्षित हस्तान्तरण नभएसम्म अमेरिकाले नै त्यहाँको शासन व्यवस्था सञ्चालन गर्ने बताउनुभएको छ । साथै, उहाँले भेनेजुएलाको विशाल कच्चा तेल भण्डार उत्खननका लागि अमेरिकी तेल कम्पनीहरूलाई तत्काल अनुमति दिने घोषणासमेत गर्नुभएको छ ।

न्यूयोर्क टाइम्ससँग कुरा गर्दै ट्रम्पले भेनेजुएलामाथिको आक्रमणलाई एउटा ‘शानदार अपरेसन’ को संज्ञा दिनुभएको छ । पछि ‘फक्स एन्ड फ्रेन्ड्स’ सँगको कुराकानीमा उहाँले यस कारबाहीमा केही अमेरिकी सैनिक घाइते भए पनि कसैको ज्यान नगएको जानकारी दिनुभयो

गत वर्षको नोबेल शान्ति पुरस्कार विजेता तथा भेनेजुएलाकी विपक्षी नेता मारिया कोरिना माछाडोले यस घटनालाई ‘स्वतन्त्रताको घडी’ भन्दै स्वागत गर्नुभएको छ । उहाँले सन् २०२४ को चुनावका विपक्षी उम्मेदवार एडमन्डो गोन्जालेज उरुतियालाई तत्काल राष्ट्रपतिको कार्यभार सम्हाल्न आह्वान समेत गर्नुभएको छ ।

यता, भेनेजुएला सरकारले यसलाई वासिङ्टनको ‘अत्यन्त गम्भीर सैन्य आक्रमण’ भन्दै देशमा संकटकालको घोषणा गरेको छ । भेनेजुएलामा अमेरिकी आक्रमण र मदुरोको पक्राउलाई लिएर विश्व समुदाय विभाजित देखिएको छ । रुस र इरानले यस सैन्य कारबाहीको कडा शब्दमा निन्दा गरेका छन् । अमेरिकाका सहयोगी राष्ट्र फ्रान्स र युरोपेली संघ (ईयू) ले समेत यस कदमप्रति गम्भीर चिन्ता र संशय व्यक्त गरेका छन् .।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka