Premier Cables
Premier Steel

अपराध विराटनगर

रंगेली मालपोतबाट भूमाफिया नाममा नक्कली लालपुर्जा, मुख्य योजनाकार भने फरार (भिडियोसहित)

Calendar बिहिबार, असोज २३, २०८२  | अपराह्न ३:५३ बजे

विराटनगर । मोरङको सुनवर्षी–६ का २० सुकुमबासी परिवारले दशकौँदेखि पसिना बगाएर बसोबास गर्दै आएको जमिनमा एक बिहान डोजर गुड्दा उनीहरू स्तब्ध भए। भदौ २३ गतेको त्यो दिन उनीहरूका लागि कालो दिन बन्यो। मदरसा, घर, बगैंचा—सबथोक भत्काइँदै गर्दा उनीहरूले आफ्नो संसार नै लुटिएको महसुस गरे।

तर यो केवल डोजरको आक्रमण थिएन, यो राज्यको संरक्षणमा भूमाफियाको मिलेमतोमा गरिएको योजनाबद्ध षड्यन्त्र थियो।

बिज्ञापन

सुनवर्षी नगरपालिका-६ स्थित कित्ता नं. ११० मा रहेको १७ कट्ठा २ धुर सरकारी जग्गामा २०३०/३५ सालदेखि बस्ती बसालेर बसेका यी परिवारलाई थाहा पनि नपाई उनीहरूको जमिन २०८२ वैशाख ७ गते भीमप्रसाद सिंह नामक व्यक्तिको नाममा दर्ता भइसकेको थियो।

सिंह मालपोत कार्यालय, रंगेलीका केही कर्मचारीसँगको मिलेमतोमा जमिनको अभिलेख नै फेरेर धनीपुर्जा निकाल्न सफल भएका थिए। मूल ढड्डा (श्रेस्ता) को सक्कली पाना च्याती नक्कली कागजात टाँसिएको खुलासा भएको छ।

रंगेली मालपोत कार्यालयका प्रमुख सुनिल पौडेलले घटनामा कर्मचारी संलग्नता रहेको स्वीकार गर्दै भने, “श्रेस्ता २०७३/०७४ सालको हो तर त्यसभित्र २०५८ सालमा जग्गा पास भएको देखाइएको छ। यो प्राविधिक र कानुनी दुवै हिसाबले असम्भव छ। यो शतप्रतिशत किर्ते हो।”


कर्मचारी, गार्ड र भूमाफिया मिलेर बन्यो योजना

जग्गा कब्जा गर्न मुख्य भूमिका खेलेका भनिएका सुरक्षा गार्ड कामदेव मण्डलले नासु रेवती अधिकारी र कम्प्युटर अपरेटर अर्जुन न्यौपानेलाई आर्थिक प्रलोभन दिएर श्रेस्ता नै परिवर्तन गर्न लगाएका थिए।

पीडितहरूको भनाइमा भूमाफिया सिंहको आपराधिक पृष्ठभूमि पनि रहेको छ। उनी लागुऔषध मुद्दामा जेल सजाय भुक्तान गरिसकेका व्यक्ति हुन्।

डोजरले घर भत्किएपछि पीडितहरू न्यायका लागि सडकमा उत्रिएका छन्। दसैँ बिदा सकिएपछि उनीहरूले इलाका प्रहरी कार्यालय रंगेली र मालपोत कार्यालयमा धर्ना दिँदै दोषीहरूलाई हदैसम्मको कारबाहीको माग गरेका छन्।

बुधबार, पीडितहरूले मालपोतका नायब सुब्बा रेवती अधिकारी, कम्प्युटर अपरेटर अर्जुन न्यौपाने, सुरक्षा गार्ड कामदेव मण्डल र भीमप्रसाद सिंहविरुद्ध ‘लिखितसम्बन्धी कसुर’मा किटानी जाहेरी दर्ता गराएका छन्।

“यो जमिनमात्र होइन, हाम्रो भविष्य हो” पीडित मोहम्मद इजरायलले भने,“यो हाम्रो जमिनमात्र होइन, हाम्रो पहिचान र भविष्य हो। राज्यको ढड्डा च्यातेर हाम्रो जीवन च्यात्ने कसैलाई अधिकार छैन। यो संगठित अपराधमा संलग्न सबैलाई कानुनी कठघरामा उभ्याएरै छाड्छौँ।”

आरोपित नासु रेवती अधिकारीले आफू एक वर्षअघि मात्रै सरुवा भई आएको र पहिले नै बनेको पुर्जाको प्रतिलिपिमा हस्ताक्षर मात्र गरेको दाबी गरेका छन्।
उनले भने, “म त एक वर्षअघि मात्रै आएको हुँ। श्रेस्ता त २०७२ सालमै बनिसकेको रहेछ।”

तर, बिना सत्यता पुष्टि सरकारी अभिलेखमा हस्ताक्षर गर्नु उनको भूमिकामाथि प्रश्न उठाउँछ।

रंगेली मालपोत प्रमुख पौडेलका अनुसार संलग्न कर्मचारीहरूलाई स्पष्टिकरण सोधिएको छ र विभागीय कारबाही प्रक्रिया अघि बढाइएको छ। घटनामा संलग्न गार्ड मण्डल भने घटना बाहिरिएलगत्तै फरार छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka