Premier Cables
Premier Steel

राजनीति

ग्रामथानमा सँधै लफडाः गाउँपालिका अध्यक्षविरुद्ध कांग्रेस-एमालेको मोर्चाबन्दी

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, भाद्र १५, २०८२  | अपराह्न १२:१९ बजे
Hamro Biratnagar Headlines

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष नमोनारायण माझीको कार्यशैलीप्रति प्रमुख राजनीतिक दलहरू नेपाली कांग्रेस र नेकपा एमालेले आपत्ति जनाएका छन्। अध्यक्ष माझीले स्थानीय तहमा निर्वाचित अन्य जनप्रतिनिधिहरूको भूमिकालाई उपेक्षा गर्दै अधिकारको केन्द्रीकरण गरेको भन्दै दलहरू आन्दोलित बनेका हुन्।

गत मंसिरमा सम्पन्न उपनिर्वाचनबाट अध्यक्षमा निर्वाचित भएका माझीले उपाध्यक्ष गुणावतीदेवी थारु, वडाध्यक्षहरू तथा सदस्यहरूसँग समन्वय नगरी एकल निर्णय गर्दै आएको कांग्रेस र एमालेको आरोप छ। अध्यक्ष माझीमाथि संविधान र कानुनले उपाध्यक्षलाई प्रदान गरेका अधिकार कटौती गरी अन्य दलका जनप्रतिनिधिहरूमाथि अवहेलना गर्ने व्यवहार गरेको दाबी गरिएको छ।

बिज्ञापन

राजनीतिक दलहरूद्वारा शनिबार झोराहाटमा आयोजना गरिएको संयुक्त छलफलमा अध्यक्ष माझीको कार्यशैलीप्रति गम्भीर आपत्ति जनाइएको थियो। कार्यक्रममा कांग्रेस र एमालेका स्थानीय, जिल्ला तथा प्रदेश तहका नेताहरू सहभागी थिए। सहभागीहरूले अध्यक्ष माझीको कदमले स्थानीय सरकारको सेवा प्रवाह प्रभावित भएको बताउँदै आवश्यक कदम चालिने चेतावनी दिएका छन्।

नेकपा एमालेका केन्द्रीय सदस्य तथा मोरङ जिल्ला इन्चार्ज जीवन घिमिरेले अध्यक्ष माझीमाथि जनविरोधी गतिविधि गरेको आरोप लगाउँदै कानूनविपरीत निर्णयहरू लिइएको बताए। उनले पोषण कार्यक्रम रोकिएको, कर्मचारी निस्काशन गरिएको, अन्य जनप्रतिनिधिलाई कार्यालय प्रवेशमा अवरोध गरिएको लगायतका कार्यप्रति आपत्ति जनाए।

नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य गुरुराज घिमिरेले स्थानीय तहमा विकास र सेवाप्रवाह प्राथमिकता हुनुपर्नेमा अध्यक्ष माझीको कार्यशैली त्यस विपरीत रहेको उल्लेख गरे। उनले कार्यपालिका बैठकबिना निर्णय लिइएको, वडाध्यक्षहरूको अधिकार कटौती गरिएको र कार्यालय सञ्चालन ऐनको गलत व्याख्या गरिएको आरोप लगाए।

नेपाली कांग्रेस मोरङका कार्यवाहक सभापति भक्तिनाथ माझीले अध्यक्ष माझीले कानुनभन्दा माथि उठेर कार्य गरिरहेको भन्दै कार्यशैली परिवर्तन गर्न चेतावनी दिए। उनले अध्यक्षका कारण मल वितरण, सिफारिस प्रक्रिया लगायतका सेवा प्रवाह प्रभावित भएको उल्लेख गरे।

गाउँपालिकाकी उपाध्यक्ष गुणावतीदेवी थारुले अध्यक्षले आफैंले किर्ते निवेदन ल्याएर दर्ता गराएको, कानुनविपरीत निर्णय गरेको र अधिकारको दुरुपयोग गरेको आरोप लगाइन्। उनले अध्यक्षकै कारण किसानहरूले मल पाउन नसकेको भन्दै सहकारीमार्फत वितरण गर्नुपरेको बताइन्।

वडा नं. ७ का वडाध्यक्ष एवं पालिका प्रवक्ता विरेन्द्र माझीले अध्यक्ष माझीले कानुनविपरीत आफूलाई प्रवक्ताबाट हटाएको बताए। उनले खोला ठेक्काको रद्द प्रक्रिया र अवैध उत्खननमा अध्यक्षको संलग्नता रहेको दाबी गरे।

वडा नं. १ का वडाध्यक्ष सुरेशकुमार माझीले अध्यक्षको कार्यशैलीका कारण गाउँपरिषद् नै नबसेको बताए। उनले अध्यक्षले अन्य जनप्रतिनिधिको अधिकार खोस्ने, गाडी प्रयोगमा रोक लगाउने, कर्मचारी हटाउने लगायतका अराजक गतिविधि गर्दै आएको आरोप लगाए।

उनले पालिकामा कांग्रेसबाट निर्वाचित केही जनप्रतिनिधि अध्यक्षलाई समर्थन गरिरहेको भन्दै पार्टी अनुशासनमा बस्न सबैलाई आग्रह गरे।

नेपाली कांग्रेस ग्रामथान गाउँ समिति अध्यक्ष किरण तुलसी विश्वासको अध्यक्षतामा सम्पन्न अन्तरक्रियामा अधिवक्ता कविता बस्नेत, गणेश लुइँटेल, डिल्लीराम घिमिरे लगायतले अध्यक्ष माझीका केही निर्णयमाथि अदालतले समेत रोक लगाएको जनाए। उनीहरूले राजनीतिक समाधानको आवश्यकता पनि औंल्याए।

कार्यक्रममा कोशी प्रदेशसभा सदस्य जयप्रकाश चौधरी, ललिता चौधरी, कटहरी गाउँपालिका अध्यक्ष देवराज चौधरी, पूर्वराज्यमन्त्री दिलिप गच्छदार, नेकपा एमाले मोरङ उपाध्यक्ष सागर थापालगायतको उपस्थिति रहेको थियो।

*** समाप्त ***
Bagmati
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka