काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को राजकीय भ्रमणलाई लक्षित गर्दै भारतको राजधानी नयाँदिल्लीका विभिन्न क्षेत्र सजाइएको छ।
प्रधानमन्त्री शाहको स्वागतका लागि दिल्लीका प्रमुख स्थानमा नेपाल र भारतका राष्ट्रिय झन्डा राखिएका छन्। साथै प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तस्बिरसमेत सार्वजनिक स्थलमा राखिएका छन्।
प्रधानमन्त्री नियुक्त भएपछि शाहको यो पहिलो विदेश भ्रमण हो। दुईदिने राजकीय भ्रमणका लागि उनी आइतबार (मंसिर ६) दिउँसो भारत प्रस्थान गर्दैछन्।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले सोमबार (मंसिर ७) नयाँदिल्लीस्थित हैदराबाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ।
भेटमा नेपाल–भारत सम्बन्ध, आपसी सहकार्य र दुई देशको साझा हितका विभिन्न विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
त्यस्तै, प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग पनि शिष्टाचार भेट गर्नेछन्। दुईदिने भ्रमण सम्पन्न गरी उनी सोमबार नै स्वदेश फर्कने कार्यतालिका रहेको छ।
