विराटनगर । लामो समयदेखि निर्माण कार्य अलपत्र परेको हुलाकी राजमार्गको कटहरी खण्डमा स्थानीय युवाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता डा. अमरेश सिंहलाई कालो झन्डा देखाएर विरोध जनाएका छन् ।
सडक निर्माणमा भइरहेको ढिलाइप्रति असन्तुष्टि जनाउँदै युवाहरूले नेता सिंहको उपस्थितिमा कालो झन्डा प्रदर्शन गरेका हुन् । लामो समयदेखि सडक निर्माण सम्पन्न हुन नसक्दा स्थानीयले सास्ती खेप्नुपरेको भन्दै उनीहरूले विरोध गरेका थिए ।
हुलाकी मार्गको कटहरी खण्ड अलपत्र हुँदा आवतजावतमा समस्या हुनुका साथै स्थानीयवासीले दैनिक रूपमा धुलो, हिलो र सडकको अव्यवस्थाबाट हैरानी खेप्नुपरेको छ ।
सडक निर्माणमा भइरहेको ढिलाइप्रति सम्बन्धित निकायको ध्यानाकर्षण गराउन विरोध प्रदर्शन गरिएको बुझिएको छ । स्थानीयले वर्षौंदेखि अलपत्र सडक निर्माणलाई शीघ्र गति दिन र काम सम्पन्न गर्न सम्बन्धित पक्षसँग माग गरेका छन् ।
विकास निर्माणका आयोजना समयमै सम्पन्न नहुँदा स्थानीयले सास्ती भोग्नुपरेको भन्दै कटहरी खण्डको सडक निर्माण तत्काल अघि बढाउनुपर्ने आवाज उठ्दै आएको छ ।
