काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणमा निजी क्षेत्रका ५२ जना उद्योगी तथा व्यवसायी पनि सहभागी हुने भएका छन्। नेपालमा भारतीय लगानी आकर्षित गर्ने र दुई देशबीच व्यापारिक सम्बन्ध विस्तार गर्ने उद्देश्यसहित व्यवसायीहरू भारत जान लागेका हुन्।
परराष्ट्र मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको भ्रमण कार्यतालिकाअनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह मंसिर ६ र ७ गते भारतको दुईदिने राजकीय भ्रमणमा जानेछन्। प्रधानमन्त्रीसँगै जाने सरकारी प्रतिनिधिमण्डल ३४ सदस्यीय हुनेछ भने निजी क्षेत्रका ५२ जना व्यवसायी आफ्नै खर्चमा भ्रमणमा सहभागी हुनेछन्।
भ्रमणका क्रममा नेपाल–भारत बिजनेस फोरम आयोजना हुनेछ। उक्त कार्यक्रममा प्रधानमन्त्री शाहले भारतीय व्यवसायी समुदायलाई सम्बोधन गर्ने कार्यक्रम छ। नेपालमा लगानीका अवसर, सरकारी नीतिगत व्यवस्था र लगानी विस्तारका सम्भावनाबारे भारतीय व्यवसायीलाई जानकारी गराइनेछ।
बिजनेस फोरममा दुवै देशका निजी क्षेत्रबीच व्यापार तथा लगानीका सम्भावना, व्यवसायीका समस्या र आपसी सहकार्यका विषयमा छलफल हुनेछ। नेपालमा भारतीय लगानी भित्र्याउने र विद्यमान व्यावसायिक सम्बन्धलाई थप विस्तार गर्ने भ्रमणको प्रमुख उद्देश्य रहेको मन्त्रालयले जनाएको छ।
प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाललगायत उच्च सरकारी अधिकारी पनि भारत जानेछन्।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग मंसिर ७ गते प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन्। वार्तामा व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल र पूर्वाधार विकासलगायत आर्थिक सहकार्यका विषयमा छलफल हुनेछ।
त्यस्तै, शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकासका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा पनि समझदारीपत्र आदानप्रदान गर्ने तयारी छ।
मन्त्रालयका अनुसार भ्रमणका क्रममा ऊर्जा सहकार्य र सम्पर्क सञ्जाल विस्तारसँग सम्बन्धित परियोजनाको उद्घाटन तथा नयाँ परियोजनाको शिलान्याससमेत हुनेछ।
प्रधानमन्त्री शाह आइतबार दिउँसो १ः४५ बजे नेपाल वायुसेवा निगमको नियमित उडानबाट नयाँदिल्ली प्रस्थान गर्नेछन्। दुईदिने भ्रमण सम्पन्न गरी उनी सोमबार साँझ ६ः३५ बजे स्वदेश फर्कने कार्यक्रम रहेको छ।
