फायल फोटो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत आज दुई खेल हुँदैछन्। पहिलो खेलमा कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन् भने दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्स भिड्नेछन्।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा हुने पहिलो खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ। दुवै टोली जित निकाल्दै प्लेअफ यात्रालाई बलियो बनाउने लक्ष्यमा मैदान उत्रनेछन्।
अंकतालिकामा समान चार अंक भए पनि कर्णाली रनरेटका आधारमा तेस्रो स्थानमा छ। तीन खेल खेलेको कर्णालीले दुई जित र एक हार बेहोरेको छ।
यता, सुदूरपश्चिमले चार खेलमा दुई जित र दुई हारसहित चार अंक जोडेको छ। रनरेट कमजोर हुँदा टोली छैटौँ स्थानमा रहेको छ।
आजै हुने दोस्रो खेलमा चितवन राइनोजले पोखरा एभेन्जर्सको सामना गर्नेछ। साँझ ५ बजे सुरु हुने खेलमा पोखरा प्रतियोगिताको पहिलो जितको खोजीमा हुनेछ।
तीन खेल खेलिसकेको पोखराले अहिलेसम्म जितको खाता खोल्न सकेको छैन। अंकविहीन रहेको टोली तालिकाको पुछारमा छ।
यता, चितवन भने दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ। तीन अंकसहित सातौँ स्थानमा रहेको चितवनले एक जित र एक हार बेहोरेको छ। टोलीको एक खेल भने वर्षाका कारण रद्द भएको थियो।
आजका दुवै खेलले अंकतालिकाको समीकरण र प्लेअफ दौडलाई थप रोचक बनाउने अपेक्षा गरिएको छ।
