काठमाडौं । भारतका प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्ध प्रदर्शन गर्ने ककरोच जनता पार्टी (सीजेपी)का तीन नेतालाई दिल्ली प्रहरीले नियन्त्रणमा लिएको छ। मंगलबार पक्राउ पर्नेमा सौरव दास, आशुतोष रांका र अजिक्य शिन्दे रहेका छन्। उनीहरू जन्तर–मन्तरमा प्रवेश गर्ने प्रयासमा रहेको आरोप छ।
सीजेपीका संस्थापक अभिजित दीपकेले घटनासम्बन्धी भिडियो सामाजिक सञ्जाल एक्समा सार्वजनिक गरेका छन्। भिडियोमा पार्टीका केही समर्थक जन्तर–मन्तरतर्फ अघि बढिरहेको देखिएको बताइएको छ।
दीपकेका अनुसार राष्ट्रिय झण्डासहित जन्तर–मन्तर प्रवेश गरेका पार्टीका नेताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनले रांका, दास, शिन्दे र टोलीका अन्य सदस्य हिरासतमा रहेको उल्लेख गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीलाई लक्षित गरी विरोध प्रदर्शन रोक्न नसकिने टिप्पणी गरेका छन्।
यसैबीच, भारतीय निर्वाचन आयोगको कार्यशैली र कथित अनियमितताविरुद्ध प्रदर्शन भइरहेका बेला दिल्लीका विभिन्न मेट्रो स्टेसन बन्द गर्ने निर्णयलाई चुनौती दिँदै दायर गरिएका निवेदनमाथि भारतको सर्वोच्च अदालतमा मंगलबार सुनुवाइ हुँदै छ।
