काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत निर्वाचन समितिले उम्मेदवारहरूको प्रथम नामावली सार्वजनिक गरेको छ। सार्वजनिक नामावलीअनुसार पार्टीका विभिन्न पदमा कुल ८०९ जनाले उम्मेदवारी दिएका छन्।
सभापति पदका लागि गगनकुमार थापा, किशोरसिंह राठौर र श्यामकृष्ण खड्गी गरी तीन जनाको उम्मेदवारी परेको छ। थापा विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका हुन्। राठौर १४औँ महाधिवेशनबाट निर्वाचित सहमहामन्त्री हुन् भने खड्गी काठमाडौं क्षेत्र नम्बर ५ का पूर्वसभापति हुन्।
वरिष्ठ उपसभापतिमा विशेष महाधिवेशनबाट उपसभापति बनेका विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित भएका छन्। त्यस्तै, महिला उपसभापतिमा विशेष महाधिवेशनबाट उपसभापति बनेकी पुष्पा भुसाल पनि निर्विरोध निर्वाचित भएकी छन्। दुवै पदमा एक–एक जनाको मात्रै उम्मेदवारी परेको हो।
उपसभापतिको खुलातर्फ दुई पदका लागि नौ जना र समावेशीतर्फ एक पदका लागि पाँच जनाले उम्मेदवारी दिएका छन्।
महामन्त्रीको खुलातर्फ दुई पदका लागि आठ जना तथा महिला महामन्त्रीको एक पदका लागि तीन जना उम्मेदवार बनेका छन्।
महिला सहमहामन्त्रीको एक पदका लागि प्रतिमा गौतम र नानुमैया बास्तोलासहित दुई जनाको उम्मेदवारी परेको छ। खुला सहमहामन्त्रीका दुई पदका लागि भने १० जना चुनावी मैदानमा छन्।
समावेशी समूहअन्तर्गत आदिवासी जनजाति सहमहामन्त्रीको एक पदका लागि पाँच, दलिततर्फ चार, मधेसीतर्फ आठ र खस आर्यतर्फ तीन जनाको उम्मेदवारी परेको छ।
त्यस्तै, थारू सहमहामन्त्रीमा तीन, मुस्लिममा तीन, पिछडिएको क्षेत्रतर्फ सात तथा अल्पसंख्यक/अपांगतातर्फ चार जनाले उम्मेदवारी दिएका छन्।
केन्द्रीय सदस्यमा पनि व्यापक प्रतिस्पर्धा
केन्द्रीय सदस्य खुलातर्फ ४५ पदका लागि ९२ जना उम्मेदवार बनेका छन्। महिला खुला केन्द्रीय सदस्यका १५ पदका लागि ४२ जनाको उम्मेदवारी परेको छ।
आदिवासी जनजातितर्फ खुला १३ पदका लागि ४० जना र महिला आठ पदका लागि ३६ जनाले उम्मेदवारी दिएका छन्। दलिततर्फ खुला आठ पदमा ३१ जना र दलित महिलातर्फ पाँच पदका लागि १८ जना प्रतिस्पर्धामा छन्। दलित मधेसीतर्फ एक पदका लागि पाँच जनाको उम्मेदवारी परेको छ।
मधेसीतर्फ खुला आठ पदका लागि २८ जना र महिला पाँच पदका लागि १४ जना उम्मेदवार बनेका छन्। खस आर्यतर्फ १० पदका लागि ३८ जना तथा खस आर्य महिलातर्फ आठ पदका लागि ३० जनाले उम्मेदवारी दिएका छन्।
थारू खुलातर्फ चार पदका लागि १० जना र महिला दुई पदका लागि सात जना चुनावी मैदानमा छन्। मुस्लिम खुलातर्फ तीन पदका लागि १६ जना तथा मुस्लिम महिलातर्फ दुई पदका लागि सात जनाले उम्मेदवारी दिएका छन्।
पिछडिएको क्षेत्रको खुलातर्फ एक पदका लागि पाँच जना र महिलातर्फ एक पदका लागि तीन जनाको उम्मेदवारी परेको छ। अल्पसंख्यकतर्फ एक पदमा १२ जना तथा अपांगतातर्फ एक पदमा नौ जनाले उम्मेदवारी दिएका छन्।
प्रदेशगत प्रतिस्पर्धा पनि रोचक
कोसी प्रदेशबाट केन्द्रीय सदस्यका तीन पदका लागि १४ जनाले उम्मेदवारी दिएका छन्। त्यस्तै, ३५ वर्षमुनिका लागि छुट्याइएका दुई पदमा कोसी प्रदेशबाट २१ जना उम्मेदवार बनेका छन्।
मधेस प्रदेशबाट केन्द्रीय सदस्यका लागि १७ जनाको उम्मेदवारी परेको छ। ३५ वर्षमुनिका दुई पदका लागि भने १३ जना प्रतिस्पर्धामा छन्।
निर्वाचन समितिले सार्वजनिक गरेको प्रथम नामावलीसँगै कांग्रेसको १५औँ महाधिवेशनमा विभिन्न पदमा तीव्र प्रतिस्पर्धा हुने देखिएको छ। सभापतिदेखि केन्द्रीय सदस्यसम्म ठूलो संख्यामा उम्मेदवारी परेपछि महाधिवेशनको चुनावी माहोल थप तातेको छ।
