कपिलवस्तु । कपिलवस्तु कारागारमा क्षमताभन्दा ७६ जना बढी कैदीबन्दी भएपछि व्यवस्थापनमा चुनौती देखिएको छ । करिब ३५० जनाको क्षमता रहेको कारागारमा हाल ४२६ जना कैदीबन्दी रहेको कारागार प्रमुख मानबहादुर सारुले जानकारी दिनुभयो ।
कारागार व्यवस्थापन विभागले पछिल्लो समय ५० जना महिला कैदीबन्दीसमेत कपिलवस्तु कारागारमा थप गरेको छ । यसअघि पुरुष कैदीबन्दी मात्र राखिँदै आएको कारागारमा महिला कैदीबन्दी थपिएपछि व्यवस्थापनमा थप समस्या भएको कारागार प्रशासनले जनाएको छ ।
कारागार प्रमुख सारुका अनुसार ब्लक ‘ए’ मा १८० जनाको क्षमता रहेकामा २२७ जना र ब्लक ‘बी’ मा १७२ जनाको क्षमता रहेकामा १९९ जना कैदीबन्दी रहेका छन् ।
क्षमताभन्दा बढी कैदीबन्दी हुँदा बसोबास, स्वास्थ्य, सरसफाइ तथा दैनिक व्यवस्थापनमा समस्या हुने गरेको सारुले बताउनुभयो । उपलब्ध संरचनाको क्षमताभन्दा कैदीबन्दीको संख्या बढी भएकाले व्यवस्थापनमा चुनौती थपिएको उहाँको भनाइ छ ।
विसं १९९५ मा स्थापना भएको कपिलवस्तु कारागारको भौतिक संरचना पुरानो रहेकाले कैदीबन्दीको संख्या र आवश्यकताअनुसार थप संरचना तथा पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यकता रहेको कारागार प्रमुख सारुले बताउनुभयो ।
