बुधबार बिहान रसुवा, नुवाकोट र धादिङका तटीय क्षेत्रमा अचानक आएको भीषण बाढीले जनजीवन अस्तव्यस्त मात्र बनाएन, सिंगो देशलाई स्तब्ध बनाइदियो। आकाश खुलेको, कतै पानी नपरेको र मौसम सामान्य देखिँदादेखिँदै माथिल्लो हिमाली क्षेत्रबाट आएको यो आकस्मिक विपत्तिले ठूलो जनधनको क्षति पुर्याएको छ। केही मिनेटमै बस्तीहरू बगरमा परिणत हुनु र ४०० मेगावाटभन्दा बढी क्षमताका जलविद्युत् आयोजनाहरूमा क्षति पुग्नुले यसको भयावहता प्रष्ट पार्छ।
यद्यपि, यो बाढीको मुख्य कारण अझै पूर्ण रूपमा रहस्यको गर्भमै छ। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) लगायतका वैज्ञानिकहरूले यो बाढी तिब्बततर्फको उच्च हिमाली क्षेत्रमा गएको हिउँ–चट्टानको हिमपहिरो (आइस–रक एभालान्च) का कारण ल्हेन्दे खोला अचानक थुक्किएर वा फुट्दा आएको हुन सक्ने प्रारम्भिक अनुमान गरेका छन्। भूकम्पीय मापन केन्द्रहरूले रेकर्ड गरेका असामान्य संकेत र गेग्रानले नदी थुनिएको हुन सक्ने सम्भावनाले यो घटनालाई थप जटिल बनाएको छ। जलवायु परिवर्तनका कारण हिन्दूकुश हिमालय क्षेत्रमा हिमनदी र पर्माफ्रस्टमा भइरहेको फेरबदल यस्ता जोखिमका मुख्य कारक मानिए तापनि यसको वैज्ञानिक र स्वतन्त्र पुष्टि हुन बाँकी नै छ।
यो घटनाले हामीलाई दुईवटा गम्भीर पाठ पढाएको छ। पहिलो, नेपालका पूर्वसूचना प्रणाली अझै पनि जलवायुजन्य आकस्मिक विपद्को सामना गर्न पर्याप्त र सुरक्षित छैनन्। नदी किनारमा राखिएका मापन यन्त्रहरू नै बाढीले बगाउनुले हाम्रो पूर्वतयारीमा देखिएको कमजोरीलाई उदाङ्गो पारेको छ। दोस्रो, यस्ता सीमापार जलउत्पन्न विपद्हरूले एक्लो देशको प्रयासले मात्र सुरक्षा दिन सक्दैनन् भन्ने प्रष्ट भएको छ।
अतः नेपाल, चीन र भारतबीच त्रिदेशीय सहकार्यलाई बलियो बनाउँदै उच्च हिमाली क्षेत्रका हिमताल, हिमनदी र बाढीका सम्भावित स्रोतहरूको संयुक्त रूपमा वैज्ञानिक अनुसन्धान र निगरानी गर्न ढिलाइ गर्नु हुँदैन। साथै, प्रभावित क्षेत्रमा तत्काल राहत, पुनस्र्थापना र दोस्रो चरणको जोखिमबाट बच्न उच्च सतर्कता अपनाउनु अहिलेको επιस्र्त आवश्यकता हो। हिमालको यो मौन चेतावनीलाई समयमै बुझेर गम्भीर नीतिगत र रणनीतिक कदम नचालिए भविष्यमा अझ ठूला त्रासदी भोग्न हामी बाध्य हुनेछौं।
