Premier Cables
Premier Steel

खेलकुद

एनईएससी अस्ट्रियालाई मोना कप बेल्जियम–२०२६ को उपाधि

Hamro Biratnagar News Channel Calendar बुधबार, असार १७, २०८३  | बिहान ६:२० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

अष्ट्रिया । नेपाल युरोपियन स्पोट्र्स क्लब (एनईएससी) अस्ट्रियाले बेल्जियममा सम्पन्न मोना कप बेल्जियम–२०२६ को उपाधि जित्दै युरोपेली नेपाली समुदायमाझ आफ्नो खेलकुदीय वर्चस्व पुनः स्थापित गरेको छ । उपाधिसँगै क्लबले नगद ३ हजार युरो पुरस्कार पनि हात पारेको छ ।

युरोपभर रहेका नेपाली समुदायबीच खेलकुदमार्फत एकता, मित्रता र सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा अध्यक्ष दिलकुमार घमालको नेतृत्वमा सहभागी भएको एनईएससीले सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गर्दै उपाधि यात्रा तय गरेको थियो ।

बिज्ञापन

समूह चरणमा शीर्ष स्थान हासिल गरेको एनईएससीले बलिया प्रतिद्वन्द्वी फ्रान्स र डेनमार्कलाई पछि पार्दै क्वाटरफाइनलमा लक्जेम्बर्गलाई पराजित गर्‍यो । त्यसपछि सेमिफाइनलमा जर्मनीलाई हराउँदै फाइनल पुगेको टोलीले उपाधिका लागि भएको प्रतिस्पर्धामा डेनमार्कलाई पराजित गर्दै च्याम्पियन बन्न सफल भयो ।

प्रतियोगिताको उपविजेता बनेको डेनमार्कले नगद १ हजार ५ सय युरोसहित ट्रफी प्राप्त गरेको आयोजकले जनाएको छ ।
एनईएससीका अध्यक्ष दिलकुमार घमालले मोना कपको उपाधि क्लबको मात्र नभई युरोपमा रहेका सम्पूर्ण नेपाली समुदायको साझा उपलब्धि भएको बताए । उनका अनुसार प्रतियोगिताले नेपाली समुदायबीच एकता, सहकार्य, आपसी सद्भाव र खेल संस्कृतिलाई थप सुदृढ बनाउने महत्वपूर्ण अवसर प्रदान गरेको छ ।

उनले खेलाडीहरूको अनुशासन, समर्पण, मेहनत र सामूहिक भावनाका कारण उपाधि सम्भव भएको उल्लेख गर्दै आगामी दिनमा पनि युवा प्रतिभालाई प्रोत्साहन गर्ने, अन्तर्राष्ट्रिय प्रतियोगितामा निरन्तर सहभागिता जनाउने तथा खेलकुदमार्फत नेपाली समुदायलाई थप एकताबद्ध गर्ने अभियानलाई निरन्तरता दिइने बताए ।

क्लबका सल्लाहकार विकास कार्कीले मोना कपको उपाधिले एनईएससी अस्ट्रियाको मात्र नभई समग्र युरोपेली नेपाली समुदायको प्रतिष्ठा उचो बनाएको बताए ।

उनले भने, ‘प्रतियोगिताभर खेलाडीहरूले देखाएको अनुशासन, प्रतिबद्धता, सामूहिक भावना र उत्कृष्ट प्रदर्शनले क्लबको पहिचानलाई अझ बलियो बनाएको छ। यो सफलता सम्पूर्ण नेपाली समुदायको साझा गौरव हो । आगामी दिनमा पनि नेपाली युवालाई खेलकुदमार्फत अन्तर्राष्ट्रिय मञ्चमा अघि बढाउने अभियानलाई अझ प्रभावकारी बनाउँदै लैजान्छौं ।’

सानो समूहबाट सुरु भएको एनईएससी अस्ट्रिया अहिले युरोपमा परिचित नेपाली खेलकुद संस्थाका रूपमा स्थापित भइसकेको क्लबको दाबी छ । विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा नियमित सहभागिता जनाउँदै नयाँ खेलाडीलाई अवसर सिर्जना गर्नुका साथै नेपाली समुदायबीच भाइचारा, सहकार्य र एकताको सन्देश प्रवाह गर्दै आएको क्लबले जनाएको छ ।

आयोजकका अनुसार मोना कप केवल खेलकुद प्रतियोगिता मात्र नभई युरोपमा रहेका नेपालीहरूबीच मित्रता, सांस्कृतिक सम्बन्ध र सामाजिक सहकार्यलाई थप सुदृढ बनाउने साझा मञ्चका रूपमा स्थापित हुँदै गएको छ ।

यसअघि पनि युरोपका विभिन्न मुलुकमा आयोजना भएका अन्तर्राष्ट्रियस्तरका भलिबल प्रतियोगितामा एनईएससीले सहभागिता जनाइसकेको छ । पर्यटन व्यवसायी तथा समाजसेवी घमालको अगुवाइमा सन् २०२० मा स्थापित क्लबले हरेक वर्ष अगष्टमा भलिबल प्रतियोगितासमेत आयोजना गर्दै आएको छ ।

*** समाप्त ***
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa