काठमाडौं । न्यूजिल्यान्डलाई पराजित गर्दै इजिप्ट फिफा विश्वकप २०२६ को समूह ‘जी’ को शीर्ष स्थानमा उक्लिएको छ। सोमबार बिहान भएको खेलमा इजिप्टले न्यूजिल्यान्डलाई ३–१ गोलले हराउँदै प्रतियोगितामा पहिलो जित निकालेको हो।
यसअघि पहिलो खेलमा बेल्जियमसँग बराबरी खेलेको इजिप्टले दोस्रो खेलमा महत्वपूर्ण तीन अंक जोडेको हो।
इजिप्टको जितमा मोहम्मद सलाह, मोस्तफा जिको र ट्रेजेग्वेटले एक–एक गोल गरे। खेलमा भने सुरुआती अग्रता न्यूजिल्यान्डले बनाएको थियो। १५औं मिनेटमा फिन सम्र्यानले गोल गर्दै न्यूजिल्यान्डलाई १–० को अग्रता दिलाएका थिए।
तर अग्रता जोगाउन नसक्दा न्यूजिल्यान्ड पराजित भयो। खेलको ५८औं मिनेटमा मोस्तफा जिकोले गोल गर्दै इजिप्टलाई बराबरीमा ल्याए। त्यसको ९ मिनेटपछि कप्तान मोहम्मद सलाहले गोल गर्दै टोलीलाई २–१ को अग्रता दिलाए।
खेलको ८२औं मिनेटमा ट्रेजेग्वेटले थप एक गोल गर्दै इजिप्टको जित सुनिश्चित गरे। खेल अवधिभर बल नियन्त्रण र आक्रमणमा इजिप्ट प्रभावशाली देखिएको थियो।
जितसँगै इजिप्टले दुई खेलबाट चार अंक जोडेको छ र समूह ‘जी’ को शीर्ष स्थानमा पुगेको छ। इजिप्टको नकआउट चरण पुग्ने सम्भावना बलियो बनेको छ। समूहमा इरान र बेल्जियमको समान दुई अंक छ भने न्यूजिल्यान्डको एक अंक रहेको छ।
विश्वकप इतिहासमा इजिप्टको यो पहिलो जित हो। सन् १९३४ मा पहिलोपटक विश्वकप खेलेको इजिप्टले यसअघि १९९० र २०१८ को संस्करणमा सहभागिता जनाएको थियो। तर ती दुवै प्रतियोगितामा जित निकाल्न सकेको थिएन। यसपटक भने पहिलो खेलमा बराबरी र दोस्रो खेलमा जित निकाल्दै इजिप्टले उत्कृष्ट सुरुआत गरेको छ।


