विराटनगर । युवा तथा विद्यार्थीलाई सीप, करियर तथा उद्योगसँग प्रत्यक्ष जोड्ने उद्देश्यका साथ आयोजित ‘सीप उत्सव २०८३’ सम्पन्न भएको छ। उद्योग संगठन मोरङको आयोजनामा भएको उक्त उत्सव स्विस सरकारको आर्थिक सहयोग, इन्स्योर/हेल्भेटास नेपालको प्राविधिक सहयोग तथा कोशी प्रदेश सामाजिक विकास मन्त्रालयको समन्वयमा सम्पन्न भएको हो।
‘सीपका लागि उद्योग, करियरका लागि भविष्य’ भन्ने मूल नारासहित आयोजित उत्सवमा झापा, मोरङ र सुनसरीका २५ वटा विद्यालय तथा प्राविधिक शिक्षालयका एक हजारभन्दा बढी विद्यार्थी सहभागी भएका थिए। विद्यार्थीहरूको करियर यात्रालाई केन्द्रमा राखेर डिजाइन गरिएको कार्यक्रममा सहभागीहरूले विभिन्न सिकाइ क्षेत्रमार्फत आफ्नो रुचि, क्षमता, सम्भावित करियर र उद्योगसँगको सम्बन्धबारे प्रत्यक्ष अनुभव हासिल गरेका थिए।
समापन कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले उद्योग क्षेत्रमा आवश्यक दक्ष जनशक्तिको अभाव र शिक्षाबाट उत्पादित जनशक्तिको सीपबीच रहेको खाडल कम गर्ने उद्देश्यले संगठनले अप्रेन्टिसिप कार्यक्रम तथा सीप उत्सवजस्ता अभियान सञ्चालन गर्दै आएको बताए। उनले विद्यार्थीलाई उद्योगको वास्तविक कार्यपरिवेश, करियरका सम्भावना र सीप विकासका अवसरसँग प्रत्यक्ष जोड्न सफल भएको उल्लेख गर्दै दक्ष जनशक्ति विकासमा निजी क्षेत्रको सक्रिय भूमिका आवश्यक रहेको धारणा व्यक्त गरे।
कार्यक्रमका प्रमुख अतिथि तथा कोशी प्रदेश सरकारका सामाजिक विकास मन्त्री रामप्रसाद महतोले सीपयुक्त जनशक्ति निर्माण आजको आवश्यकता भएको बताउँदै उद्योग र शिक्षाबीचको सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए। युवालाई रोजगार खोज्ने मात्र नभई अवसर सिर्जना गर्ने दिशामा अघि बढ्न प्रेरित गर्दै उनले यस्ता कार्यक्रमले प्रदेशमा उद्यमशीलता तथा नवउद्यमशीलताको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।
उद्योग संगठन मोरङका कार्यसमिति सदस्य तथा मानव संसाधन विकास समितिका संयोजक दीपक अग्रवालले उत्सवमा सञ्चालन गरिएका १० वटा सिकाइ तथा अनुभवात्मक जोनमार्फत विद्यार्थीहरूले करियर परीक्षण, करियर परामर्श, उद्योग अवलोकन, प्रत्यक्ष सीप प्रदर्शन, नवप्रवर्तन तथा उद्यमशीलतासम्बन्धी अनुभव प्राप्त गरेको बताए। उनका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीमा सीपमूलक शिक्षा र करियरप्रति सकारात्मक सोच विकास गर्न सहयोग पुर्याएको छ।
उत्सवअन्तर्गत प्रेरणादायी सत्र, करियर परीक्षण, करियर काउन्सिलिङ, ‘करियर ट्री’, ‘मेरो देश, मेरै उत्पादन’, प्रत्यक्ष तालिम अनुभव, सीप प्रतिस्पर्धा तथा नवप्रवर्तन एवं उद्यमशीलता प्रदर्शनीलगायतका गतिविधि सञ्चालन गरिएका थिए।
सीप प्रतिस्पर्धामा अटोमोबाइलतर्फ महमोहन स्मृति पोलिटेक्निक, हातिमुडाका मोहम्मद जेसन अन्सारी, होटल म्यानेजमेन्टतर्फ नरबहादुर कर्माचार्य बहुप्राविधिक शिक्षालय, इटहरीकी आकृति पौडेल तथा सूचना प्रविधितर्फ कन्काई पोलिटेक्निकका मनिष घिमिरे प्रथम हुँदै ‘स्किल आइकन २०८३’ घोषित भएका छन्। विजेताहरूलाई उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठी र सामाजिक विकास मन्त्री रामप्रसाद महतोले नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले नवउद्यमशीलता र दक्ष जनशक्ति विकासका लागि सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताए। स्थानीय स्तरमै दक्ष जनशक्ति उत्पादन र रोजगारीका अवसर विस्तार गर्न संयुक्त प्रयासको आवश्यकता रहेको उनको भनाइ थियो।
नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष पवन शारडाले सीप उत्सवले विद्यार्थीलाई सीप, उद्योग, रोजगार, उद्यमशीलता तथा नवप्रवर्तनसँग जोड्दै ‘सीपदेखि करियरसम्म’को यात्रालाई व्यवहारिक रूपमा अनुभव गराएको बताए।
मोरङ उद्योग व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनिल शाहले विद्यार्थीलाई आफ्नो भविष्यप्रति स्पष्ट दृष्टिकोण बनाउन तथा स्थानीय अवसरहरूको पहिचान गर्न सीप उत्सव प्रभावकारी बनेको धारणा राखे।
उत्सवमा कोशी प्रदेशका विभिन्न प्राविधिक शिक्षालय, निजी क्षेत्रका संघ–संस्था, विकास साझेदार, विद्यालय तथा कलेजका शिक्षक, विद्यार्थी, अभिभावकलगायतको उल्लेखनीय सहभागिता रहेको थियो।
