विराटनगर । मोरङको कटहरी गाउँपालिका–२ मा रहेको जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउन्डेसनले आफ्नो प्रथम वार्षिकोत्सव भव्य रूपमा सम्पन्न गरेको छ।
पूर्वप्रधानमन्त्रीद्वारा एक वर्षअघि उद्घाटन गरिएको उक्त अस्पतालले स्थापनाकालदेखि नै मोरङ, झापा र सुनसरीका ग्रामीण भेगका नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ। मोरङ क्षेत्र नं. ५ का पूर्व प्रतिनिधिसभा सदस्य योगेन्द्र प्रसाद मण्डलको पहलमा स्थापना भएको अस्पतालले विशेषगरी ग्रामीण क्षेत्रका बिरामीलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराइरहेको जनाएको छ।

वार्षिकोत्सव समारोहमा अस्पतालका संयोजक तेजस्वी मण्डलले सेवा नै अस्पतालको मुख्य उद्देश्य रहेको बताउँदै आगामी दिनमा अत्याधुनिक प्रविधिसहित थप गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गरिने जानकारी दिए।
उनले एक वर्षको अवधिमा अस्पतालले गरेका गतिविधि तथा उपलब्धिहरू समेटिएको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुका साथै भिडियो सामग्रीमार्फत अस्पतालको यात्रा पनि सार्वजनिक गरेका थिए।
समारोहमा बोल्दै अस्पतालका सञ्चालक सञ्जयकुमार मण्डलले जीवन विकास समाजको तीन दशक लामो इतिहास स्मरण गर्दै अस्पतालले पनि स्वास्थ्य क्षेत्रमा छुट्टै पहिचान स्थापित गर्ने दिशामा अघि बढिरहेको बताए। एक वर्षको उपलब्धिले थप उत्साह र जिम्मेवारी थपेको उल्लेख गर्दै उनले गरिब तथा विपन्न समुदायलाई सेवा प्रदान गर्नु नै सबैभन्दा ठूलो पुण्य कार्य भएको बताए। अस्पताललाई अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्य संस्था बनाउने लक्ष्यसहित सम्पूर्ण कर्मचारी र चिकित्सकलाई सेवामुखी भावनाका साथ काम गर्न आग्रह गरे।
प्रमुख अतिथि रिबोल देवी मण्डलले अस्पतालले पहिलो वर्षमै हासिल गरेको सफलताप्रति बधाई तथा शुभकामना व्यक्त गर्दै स्वास्थ्य र प्राविधिक शिक्षाको क्षेत्रमा संस्थाले आगामी दिनमा अझ प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिन्। उनले संस्थाको दिगो विकासका लागि समुदाय, सरोकारवाला निकाय तथा सेवाग्राहीको निरन्तर साथ र सहयोग आवश्यक रहेको बताइन्।
कार्यक्रमलाई सम्बोधन गर्दै जीवन विकास सामुदायिक अस्पताल तथा टेक्निकल एजुकेसन फाउन्डेसनका अध्यक्ष योगेन्द्र प्रसाद मण्डलले अस्पताल स्थापना गर्दाको क्षण स्मरण गरे। उनले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली हेलिकोप्टरमार्फत उद्घाटन कार्यक्रममा सहभागी भएको प्रसंग उल्लेख गर्दै एक वर्षको अवधिमा अस्पतालले अपेक्षाअनुसारको सफलता हासिल गरेको बताए।
अध्यक्ष मण्डलले अस्पतालको उद्देश्य नाफा कमाउनु नभई सेवा प्रदान गर्नु रहेको स्पष्ट पार्दै सामाजिक उत्तरदायित्वको भावनाबाट प्रेरित भएर अस्पताल सञ्चालनमा ल्याइएको बताए। उनले जीवन विकास समाजलाई स्थापना र विस्तार गर्ने क्रममा साथ सहयोग गर्ने अग्रज तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गरे।
वार्षिकोत्सव समारोहमा सांस्कृतिक कार्यक्रमअन्तर्गत विभिन्न गीत तथा नृत्य प्रस्तुत गरिएका थिए, जसले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।

अस्पताल प्रशासनका अनुसार पहिलो वर्षलाई परीक्षण तथा आधार निर्माणको चरणका रूपमा लिँदै प्राप्त उपलब्धिलाई आत्मसात् गरेर आगामी दिनमा ग्रामीण क्षेत्रका गरिब, विपन्न तथा सबै वर्गका नागरिकलाई आधुनिक र सुविधासम्पन्न स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यका साथ संस्था अघि बढिरहेको छ।
