विराटनगर । विराटनगरमा जारी छैटौं संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिता को फाइनलमा स्थानीय टोली डीएनब्यूवाईसी फुटबल क्लब प्रवेश गरेको छ।
विराटनगर जुटमिलको खेल मैदानमा बुधबार भएको पहिलो सेमिफाइनलमा उदयपुरको ब्रदरहुड फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै विराटनगर उपाधिनजिक पुगेको हो।
प्रतिस्पर्धात्मक खेलको ४२औं मिनेटमा दोर्जे तामाङले गरेको गोल नै विराटनगरका लागि निर्णायक बन्यो। उनकै एकमात्र गोलको मद्दतमा टोलीले फाइनल यात्रा तय गरेको हो। निर्णायक गोलकर्ता दोर्जे तामाङ खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भए। उनले नगद २ हजार १ सय रुपैयाँ पुरस्कार प्राप्त गरे।
विराटनगरले अब उपाधिका लागि बिहीबार हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। दोस्रो सेमिफाइनल खेल कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र लालीगुराँस फुटबल क्लब बीच हुने आयोजकले जनाएको छ।
मिल्स गोल्डकप फुटबल प्रतियोगिता को विजेताले २ लाख १ हजार १ सय ११ रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले १ लाख १ हजार १ सय ११ रुपैयाँ पुरस्कार पाउनेछ।
