विराटनगर । कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रममा संशोधन दर्ता गर्न समय नदिएको भन्दै प्रमुख प्रतिपक्ष दलले आजको प्रदेशसभा बैठक अवरुद्ध गर्ने चेतावनी दिएको छ ।
प्रमुख प्रतिपक्ष दलका नेता इन्द्रबहादुर आङ्बो ले संशोधन दर्ताका लागि समय उपलब्ध नगराइएसम्म सदनको प्रक्रिया अघि बढ्न नदिने बताएका छन् ।
हिजो बसेको प्रदेशसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि प्रतिपक्षका १५ जना सांसदले आलोचनात्मक धारणा राखेका थिए । तर, छलफल सकिएपछि सरकारका तर्फबाट मुख्यमन्त्री वा सम्बन्धित मन्त्रीले निर्णयार्थ प्रस्तुत गर्नुपर्ने संसदीय अभ्यास विपरीत सभामुखले सिधै निर्णयार्थ प्रस्तुत गरेको प्रतिपक्षको आरोप छ ।
प्रतिपक्षका अनुसार सभामुखले नीति तथा कार्यक्रम निर्णयार्थ पेस गर्दा विपक्षी सांसदहरू प्रक्रियागत अन्योलमा परेका थिए । त्यसक्रममा ‘हुन्न’ भन्ने मत राख्न नपाउँदै सभामुखले नीति तथा कार्यक्रम सर्वसम्मत रूपमा पारित भएको घोषणा गरेका थिए । त्यसपछि विपक्षी सांसदहरूले आसनबाट उठेर विरोध जनाएका थिए ।
नेता आङ्बोले अघिल्ला नौवटा नीति तथा कार्यक्रममा संशोधन दर्ताका लागि स्पष्ट समय दिने अभ्यास रहेको स्मरण गराउँदै यसपटक पनि त्यही प्रक्रिया अपनाइने अपेक्षा गरिएको बताए ।
“संशोधनका लागि समय पाइन्छ भन्ने हाम्रो अपेक्षा थियो । तर, सभामुखले सिधै निर्णयार्थ पेस गर्दा हामी छक्क पर्यौँ,” उनले भने ।
उनले दलभित्र आवश्यक समन्वय हुन नसक्दा आफ्नै पक्षबाट पनि केही कमजोरी भएको स्वीकार गरेका छन् । तर, १५ जना सांसदले विपक्षमा धारणा राखिसकेको अवस्थामा नीति तथा कार्यक्रमलाई सर्वसम्मत पारित भएको घोषणा गर्नु स्वीकार्य नहुने उनको भनाइ छ ।
गत वर्ष पनि यस्तै प्रकृतिको प्रयास भएको उल्लेख गर्दै आङ्बोले त्यतिबेला आफूहरूले पहल गरेर प्रक्रिया रोकेको बताए । यसपटक भने कार्यसूचीमा ‘निर्णयार्थ पेस गर्ने’ विषय सरकारका प्रतिनिधिले अघि सार्नुपर्नेमा सभामुखले नै प्रस्तुत गरेकाले प्रक्रियागत त्रुटि भएको उनको तर्क छ ।
हिजोको विरोधपछि सभामुखले बैठक आज बिहान ११ बजेसम्मका लागि स्थगित गरेका थिए ।
प्रमुख प्रतिपक्षले प्रक्रियागत त्रुटि सच्याएर संशोधन दर्ताको कानुनी अधिकार सुनिश्चित नगरिएसम्म सदन चल्न नदिने अडान लिएको छ । सहमति नजुटे आजको प्रदेशसभा बैठक प्रभावित हुने देखिएको छ ।
