विराटनगर । नेपाल क्रिकेट संघ (क्यान) को वार्षिक साधारण सभा विराटनगरमा शुरु भएको छ ।
कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आइतबार साधारण सभा उद्घाटन गरेका छन् । त्यस अवसरमा बोल्दै मुख्यमन्त्री कार्कीले नेपाली क्रिकेटको विकासले रफ्तार लिएको बताउँदै अझै धेरै काम गर्न सकिने बताए ।
कार्कीले नेपालले विश्व जगतमा क्रिकेटको माध्यमबाट आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल भएको पनि बताए । उनले कोसी प्रदेश सरकारले खेलकुद विकासका निम्ति प्रयास गर्दै आएको चर्चा गर्दै कम साधन स्रोतबीच पनि प्रदेश सरकारले खेलकुद विकासमा काम गरिरहेको बताए ।
दुईदिन सम्म चल्ने साधारण सभामा सांगठनिक गतिविधिबारे छलफल हुने बताइएको छ ।साधारणसभामा क्रिकेटसँग सम्बन्धित विभिन्न समसामयिक विषयमा छलफल हुने जनाइएको छ। विशेषगरी पछिल्लो १० महिनादेखि नवीकरण नभई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएको विषयले साधारणसभामा प्रमुख एजेन्डाको रूपमा प्रवेश पाउने अपेक्षा गरिएको छ।
क्यानले पछिल्लोपटक २०८१ असोजमा साधारणसभा सम्पन्न गरेको थियो। त्यसबेला गरिएको नवीकरण २०८१ पुस ९ गतेसम्मका लागि मात्रै मान्य रहेको उल्लेख गरिएको छ।
