विराटनगर । विराटनगरमा करिब २ अर्ब ५० करोड रुपैयाँको लगानीमा निर्माण गरिएको पाँचतारे होटल लेमन–ट्री प्रिमियरको सोमबार औपचारिक उद्घाटन गरिएको छ।
होटलका सञ्चालकहरू विकास चौधरी, विनय चौधरी, कविन श्रेष्ठ, प्रशान्त तातेड र मनोज विक्रम शाहले पूजापाठसहित उद्घाटन गरेका हुन्।
सञ्चालक विकास र विनय चौधरी दाजुभाइ हुन्। उद्घाटन सम्पन्न भए पनि होटललाई केही समयपछि मात्रै पूर्ण रूपमा सञ्चालनमा ल्याइने जानकारी सञ्चालक कविन श्रेष्ठले दिएका छन्। अन्तर्राष्ट्रिय ब्रान्ड अन्तर्गत सञ्चालन हुने यस होटलको व्यवस्थापन भारतको नयाँ दिल्लीस्थित कार्यालयबाट हुने बताइएको छ।
होटलमा ८१ वटा कोठा छन्, जहाँ एकैपटक करिब २०० देखि २३० जना अन्तर्राष्ट्रिय पाहुनालाई आवासको व्यवस्था मिलाइएको छ। विशिष्ट व्यक्तिहरू—जस्तै राष्ट्रपति, पूर्व राष्ट्रपति, प्रधानमन्त्री तथा अन्य उच्चपदस्थ अतिथिहरूका लागि विशेष स्वीट रुमहरू पनि तयार गरिएको छ।
यहाँ एक रात बस्नका लागि कोठा भाडा न्यूनतम ८ हजारदेखि २५ हजार रुपैयाँसम्म पर्नेछ। पाँचौँ तलामा स्विमिङ पुल निर्माण गरिएको छ, जुन होटलका पाहुना र क्लब सदस्यहरूका लागि मात्र उपलब्ध हुनेछ।
यस होटलमा करिब ६ हजार वर्गफुटको सेमिनार हल पनि छ, जहाँ एकैपटक १ हजार जनासम्म सहभागी हुन सक्नेछन्। साथै, विभिन्न देशका पाहुनालाई लक्षित गर्दै अन्तर्राष्ट्रिय स्तरका परिकार उपलब्ध गराउने अलग–अलग रेष्टुरेन्टहरू सञ्चालनमा ल्याइएका छन्।
मादक पदार्थ सेवनका लागि छुट्टै रेष्टुरेन्टको व्यवस्था गरिएको छ। करिब १० हजार वर्गफुट क्षेत्रफलमा फैलिएको वेलनेस सेन्टरमा जिम, जुम्बा, योग, एरोबिक्स, स्टीम, साउना, जकुजी, मसाज थेरापी, मेकअप रुम, ब्यूटी पार्लर, जेन्स पार्लर र स्पा लगायतका सुविधा उपलब्ध हुनेछन्।
होटल पूर्ण रूपमा सञ्चालनमा आएपछि दोस्रो चरणमा क्यासिनो पनि सञ्चालन गर्ने योजना रहेको सञ्चालक मनोज विक्रम शाहले बताएका छन्।
