Premier Cables
Premier Steel

समाचार

पुलिसलाई हराउँदै झापा ११ विराट गोल्डकपको फाइनलमा

Hamro Biratnagar News Channel Calendar बिहिबार, बैशाख ०३, २०८३  | बिहान ६:४७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगरमा जारी ‘नोबेल विराट गोल्डकप’ को ३८ औ संस्करणमा पूर्वविजेता झापा ११ फाइनलमा प्रवेश गरेको छ ।

विराटनगरस्थित शहीद मैदानमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले स्तब्ध पार्दै झापाले उपाधि भिडन्त पक्का गरेको हो

बिज्ञापन

झापाको जितमा फागुराम थारूले गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको ६७ औं मिनेटमा ‘सेकेन्ड बार’ च्यापेर गरेको कडा प्रहारले जाली चुमाउँदा झापाको जित सुनिश्चित भएको थियो ।

यस जितसँगै झापाले १० वर्षअघिको बदला समेत लिएको छ । २०७२ सालमा भएको विराट गोल्डकपको फाइनलमा झापा र पुलिस नै भिडेका थिए, जहाँ पुलिसले झापालाई १–० ले नै हराउँदै उपाधि जितेको थियो । १० वर्षपछि सोही मैदान र सोही स्कोरमा पुलिसलाई पाखा लगाउँदै झापाले फाइनल यात्रा तय गरेको हो ।

खेलको प्यलेर अफ द म्याद झापा ११ का स्वलोमन किङ घोषित भए । उनले नगद ११ हजार पाए ।
खेलको पहिलो हाफ भने गोलरहित बराबरीमा सकिएको थियो । सुरुवाती समयमा पुलिसले झापालाई दबाबमा राखे पनि आधा दर्जनभन्दा बढी अवसरलाई सदुपयोग गर्न सकेन ।

१८ औं मिनेटमा पुलिसका सञ्जीव लामाको प्रहार बाहिरिएको थियो भने लगत्तै प्रज्वल चौधरीको प्रहारले पनि दिशा लिन सकेन । २८ औं मिनेटमा सञ्जीव लामाले डिबक्स भित्रबाट गरेको कडा प्रहार बारमा लागेर फर्किएको थियो ।

४० औं मिनेटमा धीरेन्द्र शाहको प्रहार पनि विफल हुँदा पुलिस अग्रता लिनबाट चुक्यो ।

झापाले अब उपाधिका लागि बिहीबार हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । दोस्रो सेमिफाइनलमा घरेलु टोली सम्राट स्पोट्र्स क्लब र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुँदैछ ।

चर्च ब्वाइजले विभागीय टोली एपीएफलाई १-० ले हराउँदै अन्तिम चारमा स्थान बनाएको हो भने सम्राट स्पोट्र्सले भारतको बिरसामुण्डा स्पोट्र्स एकेडेमीलाई ३-१ ले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको थियो ।
प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka