फायल फोटो
विराटनगर । विराटनगरमा प्रतिष्ठित ‘विराट गोल्डकप’ फुटबल प्रतियोगिताको ३८औँ संस्करण आजदेखि सुरु हुँदैछ। सहिद रंगशालामा साँझ ६ बजे हुने उद्घाटन खेलमा झापा–११ र त्रिभुवन आर्मी क्लब आमनेसामने हुनेछन्, जसको जानकारी आयोजक विराट गोल्डकप ट्रष्टले दिएको छ।
झापा–११ र आर्मीबीच यस मैदानमा ११ वर्षपछि पुनः भेट हुन लागेको हो। यसअघि २०७१ सालको फाइनलमा झापाले आर्मीलाई हराउँदै उपाधि जितेको थियो। लामो अन्तरालपछि हुने यो प्रतिस्पर्धाले दर्शकहरूमा विशेष उत्साह थपेको छ।
वि.सं. २०१८ मा ‘महेन्द्र गोल्डकप’ नामबाट सुरु भएको यो प्रतियोगिता देशकै पुराना फुटबल प्रतियोगितामध्ये एक हो। यसपटक प्रतियोगितालाई अझ समावेशी बनाउन मोरङ जिल्ला लिग विजेता सम्राट स्पोर्टिङ क्लबलाई पनि सहभागी गराइएको छ, जसलाई मुख्य आकर्षणका रूपमा हेरिएको छ।
प्रतियोगितामा नेपालका ‘ए’ डिभिजनका चर्च ब्वाईज युनाइटेड र मच्छिन्द्र फुटबल क्लबका साथै विभागीय टोलीहरू—आर्मी, पुलिस र एपीएफ-को सहभागिता रहनेछ। साथै, भारतको अल झारखण्ड विरसा मुन्डा फुटबल एकेडेमी पनि प्रतिस्पर्धामा सहभागी हुनेछ।
बैशाख ५ गतेसम्म चल्ने प्रतियोगितामा विजेताले ११ लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। फ्लड लाइटमा सञ्चालन हुने खेलका लागि मैदान, ब्यानर र टिकट व्यवस्थापनलगायत सम्पूर्ण तयारी पूरा भइसकेको आयोजकका अध्यक्ष किशोरबहादुर शाहीले बताएका छन्। करिब १ करोड ५ लाख रुपैयाँ बजेट रहेको यस प्रतियोगिताले विराटनगरमा फुटबलको माहोल फेरि तात्ने अपेक्षा गरिएको छ।
