काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठकले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली लाई तत्काल रिहा गर्न माग गर्दै विभिन्न आन्दोलनका कार्यक्रमहरू घोषणा गरेको छ।
आज बसेको बैठकले ओलीको रिहाइको मागलाई कानुनी तथा राजनीतिक रूपमा सशक्त बनाउँदै देशव्यापी विरोधका कार्यक्रम अघि बढाउने निर्णय गरेको जनाएको छ। एमालेले आम जनसमुदाय र नागरिक समाजसँग सहकार्य गर्दै आन्दोलनलाई व्यापक बनाउने रणनीति लिएको छ।
बैठकका निर्णयअनुसार आजै अपराह्न ३ बजे देशभरका जिल्ला सदरमुकामहरूमा जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गरिनेछ। यस्तै, भोलि चैत्र १५ गते दिउँसो १२ बजे प्रत्येक जिल्लामा जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारी (सिडिओ) कार्यालयमा विरोधपत्र बुझाइने कार्यक्रम तय गरिएको छ।
एमालेले लोकतन्त्र र कानुनी राज्यको पक्षमा उभिएका सबै राजनीतिक दलहरूसँग संवाद र सहकार्य गर्ने निर्णय पनि गरेको छ। साथै, नागरिक समाज र आम जनताको सक्रिय सहभागिताबाट आन्दोलनलाई थप सशक्त बनाउने पार्टीको भनाइ छ।
पार्टीले यस कदमलाई लोकतान्त्रिक मूल्य र कानुनी प्रक्रियाको रक्षा गर्ने अभियानको रूपमा प्रस्तुत गरेको छ।
