सांकेतिक तस्बिर
विराटनगर । मतदातालाई प्रभावित पार्ने उद्देश्यले नगद वितरण गर्न लागेको आशंकामा मोरङको रतुवामाईबाट नेपाली कांग्रेसका तीन कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछपछि छाडेको छ।
प्रहरीका अनुसार उनीहरूको साथबाट ४ लाख ४९ हजार रुपैयाँ नगद बरामद गरिएको छ। पक्राउ पर्नेमा रतुवामाई नगरपालिका–८ का ४५ वर्षीय टेकनाथ घिमिरे, रतुवामाई–९ का ६० वर्षीय खड्गबहादुर चोङवाङ लिम्बू र ४८ वर्षीय चक्र नेपाली सिजुवा रहेका छन्। उनीहरूलाई रतुवामाई–७ जामवाढीबाट गएराति करिब साढे ९ बजेतिर नियन्त्रणमा लिइएको थियो।
को. १ च ७३३८ नम्बरको कार रोकेर चेकजाँच गर्दा गाडीभित्र उक्त नगदसहित कांग्रेसका पम्प्लेट, ब्यानर र नमूना मतपत्र फेला परेको प्रहरीले जनाएको छ।
प्रहरी स्रोतका अनुसार घिमिरे कांग्रेसको भ्रातृ संगठन नेपाल किसान महासंघ कोशी प्रदेशका सचिव, लिम्बू महाधिवेशन प्रतिनिधि र नेपाली क्रियाशील सदस्य हुन्।
मोरङ प्रहरी प्रमुख एसपी कविद कटवालले नियन्त्रणमा लिएकाहरूलाई सोधपुछपछि छाडिएको जानकारी दिए। उनका अनुसार गाडी भने अझै प्रहरी नियन्त्रणमै रहेको छ र आवश्यक कारबाहीका लागि निर्वाचन कार्यालयमा लेखी पठाइएको छ।
रतुवामाई मोरङ–२ निर्वाचन क्षेत्रमा पर्छ। यस क्षेत्रमा कांग्रेसका डा. मिनेन्द्र रिजाल, एमालेका दिलिप बगडिया र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कृष्णकुमार कार्कीलगायत उम्मेदवार प्रतिस्पर्धामा छन्।
