विराटनगर । विराटनगरमा जारी चौथो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि आयोजक मिल्स भेट्रान्स क्लब (निलो) र हाम्रो इटहरी भेट्रान्स क्लबबीच भिडन्त हुने भएको छ ।
विराटनगरस्थित जुट मिल खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा घरेलु टोली युनाइटेड भेट्रान्स क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै आयोजकले फाइनलको यात्रा तय गरेको हो । अब आयोजकले उपाधिका लागि शनिबार इटहरीसँग प्रतिस्पर्धा गर्नेछ । इटहरीले यसअघि एभरेष्ट भेट्रान्स क्लबलाई १–० गोल अन्तरले नै पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।
निकै प्रतिस्पर्धात्मक बनेको बिहीबारको खेलमा आयोजकका सुरज श्रेष्ठले २१ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । पहिलो हाफमा गोल खाएपछि दबाबमा परेको युनाइटेडले दोस्रो हाफमा आक्रामक खेल प्रदर्शन गरे पनि पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा सेमिफाइनलबाटै बाहिरिनु पर्यो ।
खेलको ‘प्लेयर अफ द म्याच’ आयोजक टोलीका जय देवकोटा घोषित भए ।
मिल्स भेट्रान्स क्लबका अध्यक्ष बुद्धिराज दराईका अनुसार प्रतियोगिताको विजेताले नगद ८१ हजार १११ रुपैयाँ र उपविजेताले ४१ हजार १११ रुपैयाँसहित ट्रफी र पदक प्राप्त गर्नेछन् । फाइनल खेल शनिबार दिउँसो हुनेछ ।

