१ करोड ८१ लाख मूल्यका लत्ताकपडा सहित दुईवटा ट्रक नियन्त्रणमा
मंगलबार, माघ २७, २०८२ |
बिहान ९:१३ बजे
विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले राजस्व चुहावटको आशङ्कामा १ करोड ८१ लाख रुपैयाँभन्दा बढी मूल्यका लत्ताकपडा सहित दुईवटा ट्रक नियन्त्रणमा लिएको छ।
विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले आइतबार साँझ करिब ५ बजे विराटनगर महानगरपालिका–१४ स्थित रानी–रोडशेष सडक खण्डबाट भारतबाट नेपालतर्फ आउँदै गरेका ती ट्रकहरू नियन्त्रणमा लिएको हो। प्रारम्भिक जाँचका क्रममा ट्रकमा बिल–विजकभन्दा बढी सामान रहेको तथा न्यून मूल्याङ्कन गरी राजस्व छलिएको पाइएको प्रहरीले जनाएको छ।
नियन्त्रणमा लिइएका सवारीसाधनमा प्र ३–०१–००५ ख ९४२५ नम्बरको ट्रक र त्यसका चालक सिन्धुपाल्चोक बाह्रबिसे–९ निवासी ४९ वर्षीय ऋषिराम पौडेल तथा प्र ३–०१–००६ ख १३०८ नम्बरको ट्रक र चालक रामेछाप मन्थली–१० निवासी ३७ वर्षीय कुमार बुढाथोकी रहेका छन्।
जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरिनन्दन चौधरीका अनुसार बरामद गरिएका लत्ताकपडा तथा अन्य सामानको कुल बजार मूल्य १ करोड ८१ लाख २६ हजार ८७ रुपैयाँ रहेको छ।
प्रहरीले नियन्त्रणमा लिएका दुवै ट्रक, चालक तथा सामानहरूलाई थप अनुसन्धान र आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरी, सुनसरी पठाइएको जनाएको छ।