विराटनगर । गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा धेरै सरकारी संरचना र नेताका घरमा आगजनी भयो । तोडफोडका घटना पनि प्रशस्तै भए । सरकारी दमनको प्रतिवादको नाममा सिंहदरबार, संसद भवन, सर्वोच्च अदालतसहित देशभरका राज्यका अर्बौँ मूल्यका संरचनामा आगजनी, तोडफोड र लुटपाट भएको थियो ।
भ्रष्टाचार अन्त्य, सामाजिक सञ्जालमाथिको प्रतिबन्ध फुकुवा तथा सुशासनको माग गर्दै युवाहरुले आन्दोलन सुरु गरेका थिए । तर,जेनजी आन्दोलनमा घुसपैठ भई सरकारी सम्पत्तिमाथि व्यापक विध्वंश मच्चाइएको दाबी गरिँदै आएको छ । कतिपय घटनामा संलग्नताको आरोप मुख्यतः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तथा बालेन शाह समूहसँग निकट व्यक्तिहरूमाथि लाग्दै आएको छ।
आन्दोलनका क्रममा युवालाई समर्थन गरेका काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख बालेन शाहमाथि आगलागी नियन्त्रणका लागि दमकल नपठाएको आरोप छ। त्यही आन्दोलनको आडमा रास्वपाका सभापति रवि लामिछाने नख्खु कारागारबाट ‘विजयी भाव’मा बाहिरिएको चर्चा थियो । आन्दोलनका क्रममा अन्य राजनीतिक दलका कार्यालय तथा नेताहरूका निजी निवासमा तोडफोड र आगजनी भए पनि रास्वपाका संरचना भने सुरक्षित रहनु शंकाको विषय बनेको छ।
जेनजी आन्दोलनपछि प्रहरीले आन्दोलनको नाममा आपराधिक विध्वंश र लुटपाटमा संलग्न व्यक्तिमाथि कारबाही प्रक्रिया अघि बढाए पनि आन्दोलनका अगुवा भनिनेहरूको दबाबमा त्यो प्रक्रिया रोकिएको बताइन्छ। अहिले तीमध्ये केही व्यक्ति फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि रास्वपाबाट उम्मेदवार बनेका छन्।

आन्दोलनपछि विध्वंशमा संलग्नलाई कारबाही गरिने रास्वपाको सार्वजनिक प्रतिबद्धता विपरीत पार्टीले अहिले ती व्यक्तिहरूलाई संरक्षण मात्र नभई उम्मेदवार नै बनाएको आरोप लागिरहेको छ। त्यसमध्ये एक हुन्—मोरङ क्षेत्र नं २ बाट रास्वपाका प्रतिनिधिसभा उम्मेदवार कृष्णकुमार कार्की।
मोरङको रतुवामाई नगरपालिका–९ निवासी कार्की वैदेशिक रोजगारीबाट नेपाल फर्किएका व्यक्ति हुन्। उनी जेनजी आन्दोलनभन्दा केही दिनअघि मात्र नेपाल फर्किएको र भदौ २४ गते काठमाडौंमा भएको विध्वंशमा संलग्न देखिएको थियो । फेसबुकमा सार्वजनिक उनका तस्बिरहरुले त्यो कुरा पुष्टि पनि गर्छ ।

भदौ २४ गते नयाँ बानेश्वरस्थित संसद भवनभित्र भएको तोडफोड र आगजनीमा संलग्न भएको तस्बिर कार्कीले स्वयं सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका थिए । ती तस्बिरमा उनी संसद भवनको कुर्सी बोकेर आगोमा फालिरहेको देखिन्छन्। तर, आफूले संसद भवनभित्र नभएर बाहिरमात्र कुर्सीहरुमा आगो लगाएको दाबी गरेका छन् ।
राजनीतिक दलका नेताहरूको निजी निवासमा समेत ठूलो विध्वंश गरिएको थियो । काठमाडौंमा बालाजुदेखि सोह्रखुट्टे, ठमेल, दरबारमार्ग, रानीपोखरी हुँदै सिंहदरबार र नेताहरूका घरसम्म पुगेर आन्दोलनकारीले आगजनी गरोक थिए ।
भदौ २५ गते उनले फेसबुकमा लेखेको स्टाटसमा आफू जेनजी आन्दोलनको अग्रपंक्तिमा सहभागी भएको, बाटो–बाटोमा आगो बालिएको र संसद भवनभित्र पुराना कुर्सी जम्मा गरेर आगो बालिएको उल्लेख गरेका छन्। यद्यपि संसद भवनमा आगजनी जेनजी आन्दोलनकारीले नगरेको दाबी पनि उनले सोही स्टाटसमा गरेका छन्।

सामाजिक सञ्जालमा आक्रोशपूर्ण अभिव्यक्ति दिने कार्कीले विभिन्न समयमा विवादास्पद स्टाटस लेख्दै आएका छन्। उनले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई ‘विदेशी दलाल’ भनेका छन् भने सेप्टेम्बर ११ मा लेखेको स्टाटसमा हर्क साम्पाङ र महावीर पुनबाहेक अन्यलाई देश सुम्पन नसकिने बताएका छन्। दुई दिनपछि भने उनले सुशीला कार्कीलाई ‘दिदी’ सम्बोधन गर्दै शुभकामना दिएका थिए।
केही दिनपछि उनले वर्तमान सरकारलाई भारत र पश्चिमी शक्तिको कठपुतली भन्दै आलोचना गरेका छन्। जेनजी आन्दोलनपछि उनी आन्दोलनका घाइतेहरूसँग भेटघाटदेखि गृहमन्त्री ओमप्रकाश अर्यालसँग समेत देखिए पनि रास्वपामा उनको औपचारिक भूमिकाबारे स्पष्टता छैन।

मोरङ क्षेत्र नं २ मा अघिल्लो निर्वाचनमा रास्वपाबाट ठगेन्द्र न्यौपाने उम्मेदवार थिए। यसपटक पनि उनैले टिकट पाउने चर्चा चलिरहेकै बेला कार्कीले एकाएक टिकट पाए । त्यसपछि पार्टीभित्र असन्तुष्टि देखिएको थियो। रास्व सुनवर्षी समितिका सदस्यहरुले फेसबुक स्टाटस लेखी कार्कीको पक्षमा हिंड्न नसक्ने चेतावनी दिएको थियो ।
कार्कीले जेनजी आन्दोलनअघि १२ वर्ष विदेश बसेर नेपाल फर्किएका हुन् । जापान बस्दाको समयमा उनले रास्वपाका सभापति रवि लामिछानेमाथि सहकारी ठगीको आरोप लगाउँदै कडा टिप्पणी गरेका थिए। अप्रिल १ मा लेखेको स्टाटसमा उनले सहकारी ठगी गरेर सोझा जनतालाई भ्रममा पारिएको आरोप गरेका छन्।
सेप्टेम्बर १६ मा उनले रवि लामिछानेमाथि छानबिन गरेको संसदीय समितिको प्रतिवेदन सामाजिक सञ्जालमा राख्दै पुनः आक्रमण गरेका छन्। रवि लामिछाने सहकारी ठग भएको कुरा ‘जनावरबाहेक सबैले बुझ्ने’ भन्दै उनले लेखेका छन्। जनतालाई भ्रममा पार्न सफल भए पनि आफूजस्ता व्यक्ति शक्तिमा पुगे रवि लामिछाने जेल जानुपर्ने दाबी पनि उनले गरेका छन्।
त्यस्तै, रास्वपाकी नेतृ तथा उपसभामुख इन्दिरा राना मगरमाथि मानव तस्करीको आरोप लाग्दा कार्कीले उनीमाथि पनि कडा टिप्पणी गरेका छन्। पुराना दलसँग मिलेर रास्वपाले पनि लुटतन्त्रमा सहभागिता जनाएको भन्दै सबैलाई कारबाहीको दायरामा ल्याउनुपर्ने उनको स्टाटसमा उल्लेख छ।

मोरङ क्षेत्र नम्बर २ मा कार्कीले उमेदवारको रुपमा इन्ट्री पाएपछि विध्वंश मच्चाउने कि निर्माण गर्ने उमेदवार चयन गर्ने भन्ने बहस पनि चुलिएको छ । त्यो क्षेत्रमा कांग्रेसका डा. मिनेन्द्र रिजाल र एमालेबाट दिलिप बगडिया उमेदवार छन् ।
उमेरका हिसाबले यी उमेदवार उमेरदार भएपनि दुबै यो क्षेत्रको निर्माण अनि विकासमा सँधै सक्रिय रहने गरेको रुपमा जनताले बुझ्ने गरेका छन् । बगडियाले रंगेली नगरपालिकाको दुई कार्यकाल मेयर हुँदा गरेको विकासबारे सर्वसाधारणले समेत मुक्तकण्ठले प्रशंसा गर्ने गरेका छन् ।
मोरङ क्षेत्र नम्बर २ को अहिलेको चुनावी बहस नै आगजनी गर्ने वा निर्माण अनि विकास गर्नेलाई रोज्ने भन्नेमा केन्द्रीत छ । जेनजी आन्दोलनका क्रममा रंगेली नगरपालिका सहितका संरचनामा पनि आगजनी भएको थियो ।
