Premier Cables

खेलकुद विराटनगर

विराटनगरमा भोलिदेखि राष्ट्रपति रनिङ शिल्ड

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, पुष ०८, २०८२  | साँझ ४:३३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगर महानगरपालिकाको आयोजना तथा एभरेस्ट माध्यमिक विद्यालयको समन्वयमा १८औँ संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पुस ९ गतेदेखि ११ गतेसम्म विराटनगरमा आयोजना हुने भएको छ।

एभरेस्ट माध्यमिक विद्यालयको खेल मैदान र सहिद मैदानमा सञ्चालन हुने प्रतियोगितामा विराटनगरभित्रका सरकारी तथा निजी विद्यालयका विद्यार्थीहरूले विभिन्न खेल विधामा सहभागिता जनाउनेछन्।

विज्ञापन

महानगरपालिकाले प्रतियोगिताका लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ भने बाँकी सम्पूर्ण खर्च एभरेस्ट माध्यमिक विद्यालयले व्यहोर्नेछ।

साथै प्रतियोगितालाई व्यवस्थित र उत्कृष्ट बनाउन आवश्यक सम्पूर्ण प्राविधिक व्यवस्थापनको जिम्मेवारी पनि एभरेस्ट माविले लिने विद्यालयका प्राचार्य टिकाराम पुरीले जानकारी दिए।

मंगलबार एभरेस्ट माविको सभाहलमा आयोजित पत्रकार सम्मेलनमार्फत राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ को सम्पूर्ण तयारी पूरा भएको जानकारी गराइएको हो।

पत्रकार सम्मेलनमा बोल्दै विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले खेलकुद आजको पुस्ताका लागि अपरिहार्य भएको उल्लेख गर्दै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता अब एउटा पर्वको रूपमा स्थापित भइसकेको बताए। उनले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि सबैले खेलकुदलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए।

नेपाल सरकारले विद्यालय तहबाटै बालबालिकालाई खेलकुदमा प्रोत्साहन गर्ने उद्देश्यले प्रत्येक पालिकामा पालिकास्तरीय, जिल्ला, प्रदेश हुँदै केन्द्रस्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना गर्दै आएको छ।

प्रतियोगितामा १८ वर्षमुनिका विद्यार्थीहरू सहभागी हुन पाउने छन्। यसअन्तर्गत विशेषगरी एथलेटिक्स (दौड, रिले, हाइजम्प, लङजम्प, ज्याभलिन थ्रो, सटपुट), भलिबल, कबड्डी, कराते, तेक्वान्दो, उसु लगायतका खेलहरूमा प्रतिस्पर्धा हुने छ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरूले मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने सबैभन्दा धेरै पदक जित्ने विद्यालयले यस वर्षको राष्ट्रपति रनिङ शिल्ड हात पार्नेछ।

पुस ९ गतेदेखि सुरु हुने प्रतियोगितामा १ हजार ५ सय २५ जना विद्यार्थी सहभागी हुने छन्। प्रतियोगिताको उद्घाटन विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले गर्ने कार्यक्रम रहेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka