बिर्तामोड । अर्जुनधारा खुला महिला भलिबलको खेल तालिका सार्वजनिक भएको छ । आयोजक नगर खेलकुद विकास समिति र सहआयोजक लक्ष्मी माविले आजदेखि मंसिर २१ गतेसम्म हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेका हुन् ।
बिर्तामोडमा सार्वजनिक लिग तथा नकआउट खेलको तालिकाअनुसार पहिलो खेल नेपाल एपिएफ क्बल र एभरेस्ट लुम्बिनी क्लबबीच हुनेछ । उक्त खेल आज १२ः३० बजेदेखि सुरु हुनेछ । आज नै २ः३० बजे दोस्रो खेल न्यु डायमन्ड क्लबविरुद्ध कोशी प्रदेश भलिबल टिमले प्रतिस्पर्धा गर्नेछ ।
मंसिर १८ गते पहिलो खेल नेपाल एपिएफ क्बल र त्रिभुवन आर्मी क्बलबीच हुनेछ । त्यस्तै, सोही दिन दोस्रो खेलमा न्यु डायमन्डले नेपाल पुलिस क्लबको सामना गर्नेछ ।
मंसिर १९ गते पहिलो खेल एभरेस्ट भलिबल क्लब र त्रिभुवन आर्मी क्लबबीच हुनेछ । सोही दिन दोस्रो खेल कोशी प्रदेश भलिबल टिमले नेपाल पुलिस क्लबको सामना गर्नेछ ।
प्रतियोगितामा सहभागी ६ टिमलाई दुई समूहमा बाँडिएको छ । समूह ‘ए’ मा एपिएफ, एभरेष्ट र त्रिभुवन आर्मी छ । त्यस्तै, समूह ‘बि’ मा न्यु डायमन्ड, कोशी प्रदेश र नेपाल पुलिस रहेका छन् ।
मंसिर २० गते पहिलो सेमिफाइनल खेल बिहान ९ बजे समूह ‘ए’ को विजेता र समूह ‘बि’ को उपविजेताबीच हुनेछ । सोही दिन अन्तिम सेमिफाइनल खेल दिउँसो २ः३० बजे समूह ‘बि’ को विजेता र समूह ‘ए’ को उपविजेताबीच हुनेछ । फाइनल खेल मंसिर २१ गते हुनेछ ।
प्रतियोगितामा लागि अर्जुनधारा-६ मा रहेको लक्ष्मी माविको मैदानमा कोर्ट र प्यारापिट निर्माण गरिएको छ । कोर्टका लागि म्याटको अभावमा मैदानलाई स्तरोन्नति गरिएको विद्यालयका अध्यक्ष वीरबहादुर राईले बताए ।
विद्यालय परिसरमै एक हजार दर्शक क्षमताको बाँसको अस्थायी प्यारापिट बनाइएको छ । झापामा राष्ट्रियस्तरको महिला भलिबल पहिलोपटक हुन लागेको छ । प्रतियोगिताको विजेताले २ लाख, दोस्रोले १ लाख र तेस्रो हुने टोलीले समान ३० हजार रुपैयाँ पुरस्कार पाउने आयोजक समितिका अध्यक्ष सुरेन्द्र धिमालले बताए ।
त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले १५ हजार पाउँदा, प्रत्येक दिनको प्लेयर अफ द म्याचले ५ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । त्यस्तै, बेस्ट स्पाइकर, बेस्ट ब्लकर, बेस्ट सर्भर, बेस्ट सेटर र बेस्ट लिबेरोले १० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्ने प्रतियोगिता संयोजक प्रभा काम्बाङले बताइन् ।
