विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले पार्टीको विशेष महाधिवेशन माग गर्ने ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरलाई अस्वीकार गर्न खोजिएको भन्दै आपत्ती जनाएका छन् ।
काँग्रेस केन्द्रीय समितिको जारी बैठकमा बिहीबार बोल्दै अर्यालले पार्टीको विधानअनुसार महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेर विशेष महाधिवेशन माग गरेकोले त्यसलाई अमान्य भन्नु हाँस्यास्पद भएको बताए ।
त्यही महाधिवेशन प्रतिनिधिहरूले सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्य चयन गरेको स्मरण गराउँदै अर्यालले ती प्रतिनिधिलाई अस्वीकार गर्न नमिल्ने बताए । ‘कृष्ण सिटौला दाइले हस्ताक्षरस्वीकार्य हुँदैन भन्ने हिसाबले बोल्नुभयो, उहाँजस्ता नेताले यस्तो कुरा गर्नु हुँदैन’ उनले भने, ‘तिनै महाधिवेशन प्रतिनिधिले सभापतिमा शेरबहादुर देउवालाई ६० र शेखर कोइरालालाई ४० प्रतिशत मत दिएका होइनन् र ? त्यसबेला वैध, अहिले अवैध भनेर कसरी भन्न सकिन्छ ?’
अर्यालका अनुसार विशेष महाधिवेशन अभियानमा सहभागी भएका प्रतिनिधिहरूलाई असत्य वा अवैध ठहर्याउनु पार्टीको आन्तरिक लोकतान्त्रिक संस्कृतिका लागि खतरा हो । सिटौलाकै क्षेत्रका ५४ प्रतिशत प्रतिनिधिले विशेष महाधिवेशनका पक्षमा हस्ताक्षर गरेको बताउँदै उनले त्यसलाई दबाएर जान खोजेकोप्रति आपत्ती जनाए ।
पार्टीभित्र उत्पन्न विवादलाई प्रतिष्ठाको विषय नबनाई समाधान खोज्न नेतृत्वको अर्यालले ध्यानाकर्षण गराए। नियमित वा विशेष, जे गरे पनि समयमै महाधिवेशन गर्नुपर्ने उनको भनाइ छ ।
आफूहरु हामी हस्ताक्षर मतदाता मात्रै भएको भन्दै अर्यालले नेतृत्व गर्नेहरू पूर्णबहादुर खड्का, गगन थापा, शेखर कोइरालाहरु नै भएकोले परिस्थिति बुझेर निर्णय लिन सुझाब दिए ।
कोशी प्रदेशमा ७४ प्रतिशतले महाधिवेशनको लागि हस्ताक्षर गरेको भन्दै अर्यालले त्यसलाई पेलेर जान सक्ने अवस्था नरहेको बताए ।
