विराटनगर । पूर्वी नाकाबाट अलैंची निर्यात बढेको छ । मेची भन्सार कार्यालयमार्फत चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकमा अलैंचीको निर्यात ३३ प्रतिशतले वृद्धि भएको हो।
कार्यालयका अनुसार सो अवधिमा एक अर्ब ६७ करोड ९१ लाख ७५ हजार रुपैयाँबराबरको अलैंची निर्यात भएको छ।
भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार पहिलो तीन महिनामा एक हजार ७२ मेट्रिक टन अलैंची निर्यात भएको हो। अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब सात करोड २२ लाख रुपैयाँबराबरको मात्र अलैंची निर्यात भएको थियो। पूर्वी नेपालमा उत्पादन हुने यो प्रमुख नगदे बाली हाे ।
तर यो नाका भएर पहिलो त्रैमासिकमा चिया निर्यात ४० दशमलव ९० प्रतिशतले घटेको छ। उक्त अवधिमा एक अर्ब एक करोड २१ लाख ८६ हजार रुपैयाँबराबरको चिया मात्र निर्यात भएको छ, जबकि अघिल्लो वर्षको सोही अवधिमा निर्यात मूल्य एक अर्ब ७१ करोड ४० लाख ३१ हजार रुपैयाँ पुगेको थियो।
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा मेची भन्सार कार्यालयमार्फत चार अर्ब ८० करोड ३९ लाख २४ हजार रुपैयाँबराबरको मालसामान निर्यात भएको कार्यालयले जनाएको छ।
