काठमाडौं । ‘जेनजी’ प्रदर्शनका क्रममा देशभरका कारागारहरूमा भएको तोडफोड र आगजनीपछि भागेका कैदीहरूमध्ये ७ हजार ६२७ जना अझै फरार रहेका छन्।
गएको भदौ २४ गते भएको उग्र आन्दोलनका क्रममा २८ कारागार र ९ सुधारगृहबाट कुल १४ हजार ५५६ जना कैदी र थुनुवा फरार भएका थिए। कारागार व्यवस्था विभागका अनुसार तीमध्ये १३ हजार ५९२ जना कारागार र ९६४ जना सुधारगृहबाट भागेका हुन्।
असोज ५ गतेसम्म ६ हजार ९२८ जना मात्र पुनः कारागार फर्किएका छन् भने बाँकी कैदी अझै सम्पर्कमा आएका छैनन्। विभागका अनुसार फरारमध्ये धेरैजसो जघन्य तथा संगठित अपराधमा संलग्नहरू रहेका छन्, जसले सुरक्षा चुनौती थप बढाएको छ।