






बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका-५, मंगलदीप टोलमा प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित औषधि भण्डारण गरेको गोदाममा छापा मारेको छ । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनी र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको संयुक्त टोलीले मन कुमार संग्रौलाको घरमा रहेको गोदाममा छापा मारेको थियो ।
प्रहरीले उक्त गोदामबाट २५ वर्षीय बिनोद घिमिरेलाई पक्राउ गरेको छ । घिमिरे झापाको अर्जुनधारा नगरपालिका-६, दासपुलका बासिन्दा हुन् ।प्रहरीले उनको साथबाट एक थान मोबाइल र प्र.१-०१-०१३ प ८९०४ नम्बरको यामाहा मोटरसाइकल पनि बरामद गरेको छ ।
गोदाम सञ्चालन गर्ने मुख्य अभियुक्त भनिएका सनलाइट फर्माका सञ्चालक भानुभक्त खरेल भने फरार रहेका छन् ।खरेलले संग्रौलाको घरमा दुईवटा कोठा भाडामा लिएर औषधिको गोदाम सञ्चालन गर्दै आएको खुलेको छ । प्रहरीले उनको खोजी कार्य तीव्र पारेको जनाएको छ । प्रहरीले पत्रकार सम्मेलन गरी बरामद गरिएका औषधिहरू सार्वजनिक गरेको छ । गोदाममा भण्डारण गरेर लागूऔषधि विभिन्न स्थानमा अवैध रुपमा बिक्रीका लागि पठाइने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
बरामद गरिएका सामग्री
ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल: १,०३,८०० क्याप्सुल
ट्रामाडोल हाइड्रोक्लोराइड इन्जेक्सन (ट्रामडेक्स): १,८७० एम्पुल
ट्रामाडोल र एसिटामिनोफेन ट्याब्लेट: ४,०५० ट्याब्लेट
डाइसाइक्लोमिन एचसीएल ट्याब्लेट: ९७,००० ट्याब्लेट
सिल्डेनाफिल ट्याब्लेट (जेनेग्रा): ८,९०० ट्याब्लेट
मिफेप्रिस्टोन र मिसोप्रोस्टोल ट्याब्लेट (टर्मिपिल किट्स): ७,६५० ट्याब्लेट
इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी विजय श्रेष्ठले बरामद औषधिको परिमाण अहिलेसम्मकै ठूलो मध्येको एक रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिए । झापा जिल्ला लागुऔषध तस्करीको ‘ट्रान्जिट’ बन्दै गएको र यसलाई रोक्न प्रहरी आक्रामक रूपमा लागेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।