Premier Cables
Premier Steel

अपराध समाचार

धनुषामा सम्बन्धविच्छेदका घटना बढे

Hamro Biratnagar News Channel Calendar बुधबार, साउन २०, २०८३  | अपराह्न १२:५६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर | धनुषा जिल्लामा पछिल्ला वर्षहरूमा सम्बन्धविच्छेदका मुद्दा निरन्तर बढ्दै गएका छन्। जिल्ला अदालत धनुषाको तथ्याङ्कले सामाजिक, आर्थिक तथा पारिवारिक परिवेशमा आएको परिवर्तनसँगै वैवाहिक सम्बन्ध टुट्ने क्रम पनि बढ्दै गएको देखाएको हो।

जिल्ला अदालतका सूचना अधिकारी हेमकुमार महतोका अनुसार आर्थिक वर्ष २०८२/८३ मा सम्बन्धविच्छेदका ३३३ नयाँ मुद्दा दर्ता भएका थिए। अघिल्लो आर्थिक वर्षबाट सरेर आएका १६७ मुद्दासहित अदालतमा कुल ५०० मुद्दा रहेका थिए। तीमध्ये २८१ मुद्दाको फैसला भइसकेको छ भने २१९ मुद्दा अझै विचाराधीन छन्।

बिज्ञापन

यसअघि आर्थिक वर्ष २०८१/८२ मा सम्बन्धविच्छेदका ३१५ नयाँ मुद्दा दर्ता भएका थिए। सो वर्ष ३४७ मुद्दाको टुंगो लागेको थियो भने १६७ मुद्दा चालु आर्थिक वर्षमा सरेका थिए। लगातार बढ्दो दर्ताले धनुषामा वैवाहिक सम्बन्धमा तनाव बढ्दै गएको संकेत गरेको छ।

कानुन व्यवसायी राजकुमार महासेठका अनुसार शिक्षाको विस्तार, महिलाको आर्थिक तथा सामाजिक सशक्तीकरण, वैदेशिक रोजगारीका कारण लामो समय पति–पत्नी छुट्टिएर बस्नुपर्ने अवस्था, सामाजिक सञ्जालको बढ्दो प्रभाव, पारिवारिक विवाद तथा घरेलु हिंसाका घटनाले सम्बन्धविच्छेदको प्रवृत्ति बढाएको छ।

उहाँले गरिबी, बेरोजगारी, वैदेशिक रोजगारीले ल्याएको सामाजिक परिवर्तन, एक्लै बस्ने जीवनशैलीप्रतिको आकर्षण तथा व्यक्तिगत स्वतन्त्रताप्रतिको बढ्दो चेतनाले पनि दाम्पत्य सम्बन्धमा चुनौती थपिएको बताउनुभयो। पछिल्लो समय महिला र पुरुष दुवैले आफू अन्यायमा परेको महसुस भए कानुनी प्रक्रिया अपनाउने प्रवृत्ति बढ्दै गएको उहाँको भनाइ छ।

अर्का कानुन व्यवसायी दीपककुमार विश्वकर्माले सम्बन्धविच्छेदका मुद्दा बढेसँगै अदालतमा पारिवारिक विवाद समाधानका लागि मध्यस्थता सेवाको आवश्यकता पनि बढेको बताउनुभयो। समयमै वैवाहिक परामर्श, मनोवैज्ञानिक सहयोग, पारिवारिक संवाद र वैवाहिक शिक्षालाई प्रभावकारी बनाउन सके सम्बन्धविच्छेदका घटनामा केही हदसम्म कमी ल्याउन सकिने उहाँको धारणा छ।

*** समाप्त ***
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa