काठमाडौं । जिल्ला अदालत काठमाडौंले बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा मंगलबार फैसला सुनाउँदै सात जनाबाहेक सबै आरोपितलाई दोषी ठहर गरेको छ।
न्यायाधीश तेजबहादुर खड्काको इजलासले मुद्दाको फैसला सुनाएको हो।
अदालतले दोषी ठहर भएका केही आरोपितको हकमा भने सजाय निर्धारणका लागि छुट्टै सुनुवाइ गर्ने भएको छ।
कानुनी व्यवस्थाअनुसार तीन वर्षभन्दा बढी कैद सजाय हुन सक्ने मुद्दामा दोषी ठहर भएका व्यक्तिको सजाय निर्धारण गर्न छुट्टै प्रतिवेदनसहित पुनः अदालतमा पेश गरी सुनुवाइ गर्नुपर्ने व्यवस्था छ। सोही अनुसार सम्बन्धित आरोपितको सजाय पछि निर्धारण गरिनेछ।
काठमाडौं जिल्ला अदालतले यो प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वगृहसचिव टेकनारायण पाण्डे सहित २३ जनालाई विभिन्न कसुरमा दोषी ठहर गर्दै फैसला सुनाएको छ।
न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार उनीहरूलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि पेस गर्न फैसला गरेको जिल्ला अदालतका सूचना अधिकारी शिव खतिवडाले जानकारी दिए।
२०८० जेठ १० गते पूर्वउपप्रधानमन्त्री रायमाझी, पूर्वगृहमन्त्री खाँण, पूर्वगृहसचिव पाण्डे सहित ३० जनाविरूद्ध ठगी, लिखत किर्ते, राज्यविरूद्धको अपराध र संगठित अपराधसम्बन्धी कसुर लगाउँदै सरकारी वकिलले मुद्दा दायर गरेको थियो।


