






राजावादी आन्दोलनका ३४ जनालाई मुद्दा नचलाइने, दुर्गा प्रसाईंलाई कर्तव्य ज्यान मुद्दा
काठमाडौं । गत १५ चैतमा राजावादी समूहले गरेको हिंसात्मक आन्दोलनमा संलग्न भई अनुसन्धानको दायरामा रहेका ३४ जनाविरुद्ध मुद्दा नचल्ने भएको छ । प्रदर्शनमा संलग्न भई हिंसामा रहेका भनिएका १०८ जनामध्ये ३४ जनाविरुद्ध मुद्दा नचल्ने भएको हो ।
जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएअनुसार बाँकीलाई भने मुद्दा चलाइने । ३४ जनालाई भने मुद्दा नचलाउने राय सरकारी वकिलको कार्यालयमा पठाइएको छ । प्रहरीले यस विषयमा दुई महिनासम्म अनुसन्धान गरेको थियो ।
१०८ जनामध्ये ९० जना पक्राउ परेका छन् । १८ जना फरार थिए । उनीहरुविरुद्ध राज्यविरुद्धको कसुर, अपराधिक उपद्रव, संगठित अपराध र कर्तव्य ज्यानसम्बन्धी कसुरमा मुद्दा लगाइएको छ ।
मुख्य अभियोग लगाइएका दुर्गा प्रसाईंको हकमा भने कर्तव्य ज्यान मुद्दा समेत रहेको एक प्रहरी अधिकृतले बताएका छन् । अधिकांशलाई म्याद थपिए अनुसारकै कसुरमा मुद्दा अघि बढ्ने उनले बताए ।
प्रहरीले अनुसन्धान सकेर गएको बिहीबार रायसहितको प्रतिवेदन बुझाएपछि त्यसको अध्ययनका आधारमा अब जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर गर्ने हुने छ । यो प्रकरणमा पक्राउ परेका राप्रपा नेता धवलशमशेर राणा, रवीन्द्र मिश्रलगायत हाजिर जमानतमा छुटिसकेका छन् ।
राजावादी समूहले गरेको प्रदर्शनले हिंसात्मक रुप लिँदा २ जनाको मृत्यु भएको थियो । स्थिति नियन्त्रणमा लिने क्रममा २० जनालाई प्रहरीले चलाएको गोली लागेको थियो । दुर्गा प्रसाईंलाई भने प्रहरीले भारतको आसामबाट पक्राउ गरेर नेपाल ल्याएको थियो । उनी नै आन्दाेलनकाे प्रमुख योजनाकार रहेको प्रहरीले जनाएकाे छ ।